२६ जेष्ठ २०७९, बिहीबार

एजेन्सी । युइएफए नेसन्समा नेदरल्याण्डसले वेल्समाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्याण्डसले वेल्सलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले समान एक–एक गोल गरे । वेल्सका रेज नोरिङटन डेभिसले गरेको गोल सान्त्वना बन्यो । सबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५०औं मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै नेदरल्याण्डसलाई अग्रता दिलाएका थिए । उनले जेर्डी स्काउटेनको पासमा गोल गरेका थिए ।

त्यसपछि डच टोली जिततर्फ अग्रसर रहँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काए । इन्ज्युरी समयकै थप गरिएको चौथो मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै नेदरल्यान्डसले दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ३-३ अंक रहँदा बेल्जियम दोस्रो तथा पोल्यान्ड तेस्रो स्थानमा रहेको छ । वेल्सले अंकको खाता खोल्न सकेको छैन ।

LIVE TV