२५ जेष्ठ २०७९, बुधबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहेपनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर, गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।

उनले भने, ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म, चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन ।’

उनले थपे, ‘हामी इमान्दारिताका साथ चल्छौं । तर, कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एकल्याउन खोजिएको छ भने त्यसो आलोचना गर्छौंं । आफ्नो अडानमा दृढताका साथ उभिन्छौं । हामी अडानमा नउभिने, अरुले पेल्यो भनेर रुने यस्तो काम गर्न हुँदैन । त्यसले हाम्रो कमजोरी झल्किन्छ । तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नुपर्दछ । चाहिने दुईटा कुरा हो–पहिलो तथ्य हो, दोस्रो तर्क हो । सक्दैसक्दैनौं ।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए । उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए । अध्यक्ष नेपालले भने, ‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अव जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाइ छ ।’

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्नपनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

LIVE TV