२५ जेष्ठ २०७९, बुधबार

काठमाडौं । पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दूमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको छ । मंगलवार १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले शेयर मूल्यवृद्धि भएको छ भने लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधवार नेप्से परिसूचकसँगै ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ ।

त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता,माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य भने ४.११ प्रतिशतले घटेको छ । बुधवार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर ५ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ ।

LIVE TV