२२ जेष्ठ २०७९, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् । महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताएका हुन् ।

आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क समेत गरे ।

महासचिव पोखरेलले राजस्व बृद्धि हुने बस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व बृद्धि हुने कुनै आधार नभएपनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए । उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहो¥याए ।

महासचिव पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाँही सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ ।’

उनले थप भने, ‘समग्रमा भन्नु हुन्छ भने–यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ । अघिल्लो वर्ष यतिधेरै स्पोन्ट आईरन आयात गरिएकी प्लेट आईरनको उद्योगनै धराशायी भयो । राजस्व वृद्धिका लागि कुनै सम्भावना नहुने गरी बस्तुको आयात गरिएको हुन्छ । अनि कसरी राजस्व वृद्धि हुन्छ, मुलुकको समृद्धि हुन्छ ?’

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन बृद्धि गर्ने सरकारले सोच नै बस्तुपरक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV