२२ जेष्ठ २०७९, आईतवार
  • राम गोपाल तमखु

भक्तपुर । प्रत्येक वर्ष जेष्ठ शुल्के षष्ठी तिथीको दिन नेवाः समूदायले सिथी नखाःपर्व मनाउने गर्छ । विषेश गरि आज नेवाः परम्परागत रोटी माय्ःओ, (मासको बारा) मूःओ (मुगीको बारा) र चामलको पिठोबाट बनाउने चटामरी पकाएर भोज खाने चलन छ ।

आजको दिनलाई बिशेष गरी परम्परादेखि चलीआएको खानेपानीको मुल (मुहान) सफा गर्ने दिनको रुपमा पनि लिइन्छ । आज स्थानियहरु मिलेर आ–आफ्ना टोल चोकमा रहेको इनार, कुवा, र ढुङ्गेधारहरुको सरसफाई गर्ने चलन छ ।

सफा गरी सकेपछि पानीमा राख्ने परम्परगत किटनाशक औषधीहरु राख्ने भएकोले आजबाट ४ दिनसम्म पानी लिन हुँदैन भने चलन पनि छ । सामान्य पूजा गरि सो स्थानहरुमा मान्छेले ४ दिनसम्म छुनुहुँदैन भने चलन छ ।

आज विषेशगरी मास, मुगी, केराउ लगायतका दालहरुको पिठोबाट बनेका विशेष प्रकारको ओ (बारा) र चामलको पिठोवाट बनेको चटामरी (रोटी) खाने चलन छ । यस दिन ओ लगायतका प्रोटिनयुक्त खानेकुरा खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ ।

साथै शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा लगायत नजिकको देवीदेवताहरुलाई पूजा गरी नयाँ गहुँबाट तयार गरिएको परिकार चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास छ । सिथी नखःका दिन किसानहरूले खेत बारीमा काम गर्दैनन । आज धर्तीको जन्मजयन्तीको रुपमा सिथीःनखा मनाउने गरिन्छ ।

यस पर्वमा भक्तपुरको चोक तथा गल्लीहरुमा रहेको पानीको मुहान इनार, कुवा, दुंगेधारा आदि सरसफाई गर्ने चलन समेत रहेको छ । वर्षातका वेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दुषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता हो ।

हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि बर्षको एक दिन सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।

LIVE TV