२० जेष्ठ २०७९, शुक्रबार
  • दान बहादुर बुढा,

मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ स्थित जनजागृति प्राथमिक विद्यालयमा शिक्षक–शिक्षिकाको अभावमा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । वि.सं. २०२८ सालमा स्थापना गरिएको यस प्राथमिक विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भएतापनि एक जना शिक्षकमा मात्र दरबन्दीमा छन् ।

उक्त एक जना शिक्षक पनि स्कूलमा नियमित उपस्थित नहुँदा जनजागृति प्राविमा अध्ययनरत २७ जना विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो । करिब चार सय घरदूरी रहेको यस मुगुमा गाउँमा लामा, तामाङ र दलितहरुको बसोबास रहेको छ ।

यहाँका हुने–खाने लामा र तामाङका बालबालिकाहरु सदरमुकाम गमगढी, जुम्ला, काठमाडौं, गुम्बालगायतमा अध्ययन गर्ने गरेका छन् । तर, दरबन्दीमा रहेका एक जना शिक्षक समेत नियमित स्कूलमा उपस्थित नहुँदा यहाँ अध्ययनरत गरीब–निमुखाका बालबालिकाहरुको भविष्य अन्यौलमा परेको छ ।

शिक्षक नै नियमित स्कूलमा नआउने भएकाले आफ्नो बालबालिकालाई नै घोडा र चौंरी गोठालो पठाउने गरेको अभिभावक उगिन कामीले बताए । तर, जनजागृति प्राविका प्रधानाध्यापक पासाङ लामाले भने हिमाली बस्ती भएकाले ६ महिना मात्रै पढाइ हुने बताए ।

उनले भनेका छन्, ‘हिमाली बस्ती भएको कारण गाँउमा ६ महिना मात्रै पठन–पाठन गर्ने गरेका छौं । हिजो आजको सिजनमा नियमित विद्यालय सञ्चालन गरिरहेका छौं । हिमपातको समयमा शिरानिचौरमा गाँउपालिकासँग सहकार्य गरेर पठन–पाठन गर्ने गरेका छौं ।’

मुगमकामारोङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलले सबै क्षेत्रमा पालिकाले हेर्न नसक्ने उल्लेख गर्दै नियमित विद्यालय अआउने र नआउने शिक्षकहरुको अनुगमन गरिने जानकारी गराए । त्यस्तै राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV