१९ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताएका हुन् ।

राजस्वको ठूलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनिटरी प्याड र विद्युतीय सवारी साधनको आयातमा ठूला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । त्यस्तै सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।

उनले भनेका छन्, ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरु यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनु भएको देखिन्छ । सेनिटरी प्याडको, विद्युतिय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहो¥याउन चाहान्न । पुँजिगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ ।’

उनले थप भनेका छन्, ‘२१ प्रतिशत पुँजिगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ माक्र्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन । सेवामा समेत हाम्रो ठूलो पैसा बाहिरिएको छ ।’

उनले फेरि भने, ‘यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोई हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’

यसका साथै सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताए । उनले विगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताए । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताए ।

उनले भने, ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभो । आज फेरी त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिदैनँ । विश्वास भएन भने लगानी गर्दैन ।’

त्यस्तै प्रस्तुत बजेटले अर्थतन्त्रको मुलभूत समस्यालाई समाधान गर्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV