१८ जेष्ठ २०७९, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति गरे पनि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ तोडे्न नसकेको बताएका छन् ।

बुधबार कमलपोखरीस्थित कुमारी हलमा स्थानीय निर्वाचनमा जित हासिल गरेका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले अब भक्तपुरको नेमकिपाजस्तै पार्टीबाट निर्वाचनमा जितेका १२२ जनालाई पनि त्यस्तै बनाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले हामीसँग १२२ जना अध्यक्ष र प्रमुख (मेयर) छन् । के १२२ वटालाई भक्तपुर नगरपालिकाजस्तो बनाउन सकिएला ? १२२ वटा भक्तपुर बनाउन पाउने हो भने त्यसपछि त ७५३ वटै भक्तपुर हुन थाल्छन् । यसो भन्दैमा मेरो भनाई अनर्थ नलगाइदिनुहोला, व्यवहारिकता बुझिदिनुहोला ।’

भक्तपुरमा नेमकिपालाई हराउन जति गरे पनि नसकेको बताउदै नेमकिपाको गढ कहिल्यै तोड्न नसकिने पनि बताए । नेमकिपाको गढ किन तोड्न सकिँदैन त भन्ने सन्दर्भमा त्यहाँको जनताका बीचमा नेमकिपा बसिसकेको बताए ।

उनले भने, ‘भक्तपुरमा नेमकिपले जसरी जनताका बीचमा बसेर शिक्षा, स्वास्थ्य, रोजगारी सृष्टि गर्ने कुरामा, जनताको सुख, दुःखमा काम गरेको छ । म त २०१६ को निर्वाचनअघि त्यहाँ तोड्ने भनेर न्यातपोल मन्दिरअगाडि भयानक आमसभा गरियो तर टुट्दैन । कांग्रेस एमालेहरुले पटकपटक तोड्न प्रयास गरे तोडिँदैन । हेर्दा त यो बडो विचित्र लाग्छ, किन टुट्दैन ? हामी लिडरहरु कहिलेकाहिँ कुरा गर्छाैँ क्या– हामीले त यति पनि गरेका छैनौँ । उहाँहरुको त एकजना मात्र हुनुहुन्छ प्रेम सुवाल । उहाँ हरेक हप्ता पत्रिका, किताब (समाजवादसम्बन्धी) दिनुहुन्छ । भक्तपुरका विभिन्न ठाउँमा पनि पुर्याउनुहुन्छ । उहाँहरुमा राम्रो कम्युनिष्ट प्रशिक्षण नै छ । हाम्रो ठाउँबाट हेर्दा संकीर्ण (डग्मा) देखिएको छ भनिन्छ तर, जति संकीर्ण भनिए पनि भक्तपुरका जनताले किन छोड्दैनन् त ? केही राम्रो काम गरेकै हुनाले हो नि !’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV