१७ जेष्ठ २०७९, मंगलवार

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई हलेसी तुवाचुङ नगरपालिकाको उपप्रमुख (उपमेयर) बनेकी बिमला राई अहिले नगरप्रमुख (मेयर) छन् । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी नेकपा एमालेका खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै विमलाले मेयरमा बाजी मारिन् । मेयरमा निर्वाचित भएकी विमलालाई चुनाव जित्न चानचुने थिएन । तर, यावत् परिस्थितिलाई छिचोल्दै उनी अन्ततः मेयरमा निर्वाचित भइन् ।

त्यतिबेलाको समय सम्झिने हो भने पाँच दलीय गठबन्धन गरेरै जानुपर्ने पार्टी केन्द्रको उर्दी, त्यसमाथि निर्वाचन दैलोनेरै आउँदा पनि हलेसी तुवाचुङ नगरपालिकामा कस्लाई मेयरको उम्मेदवार बनाउने टुंगो लागेको थिएन । महिला मेयरको हल्ला चलेपनि पूर्ण परिकल्पना गरिएको थिएन । उपमेयर भइसकेकोलाई मेयर बनाउने कि नयाँलाई चान्स दिने ? भन्ने विषयमा पनि केही छलफलै भएको थिएन । विमलाका अनुसार एउटा चट्टानी अडान थियो– हलेसी तुवाचुङ नगरपालिकामा जे गरे पनि कांग्रेस एक्लै लड्छ, गठबन्धन गर्दैन ।

वैशाख १२ गते साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने समय थियो । उम्मेदवार मनोनयन दर्ता गर्ने समय छाेटिने क्रममा मेयरको टिकट विमलाले सकसले पाए । ‘महिलालाई पार्टीले टिकट दियो भन्दैमा म पार्टीले हेर्यो भन्दिन,’ विमला भन्छिन्, ‘प्रदेश १ को ४९ नगरपालिकामध्ये २ जना महिलाले मात्र टिकट पाउनु कति दूर्भाग्य रहेछ ।’ महिलाले स्थान नपाउनुचाहिँ के को ‘साइट इफेक्ट’ हो त ? उनी भन्छिन्, ‘गठबन्धनले पनि हुन सक्छ ।’

अन्य क्षेत्रजस्तै राजनीतिमा पनि महिलालाई कमजोर र अवसर दिनबाट बञ्चित गरिने गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका चलाउने साँचो विमलाले पाएकी छन् । अब उनले २०८४ सम्म नगरलाई अघि बढाउने जिम्मेवारी पाएकी छन् । पाँच वर्ष उपमेयर बनेर नगर हाँकेकी विमलासँग के के छन् त मेयर बनेपछिका एजेन्डाहरु ? यीनै विषयमा न्यूज २४ सञ्चारकर्मी लोकराज रुम्दालीले मेयर विमला राईसँग कुराकानी गरेका छन् :

तपाईको राजनीतिक जीवनबारे बताइदिनुस् न,

म राजनीतिक परिवारमै जन्मे, हुर्किए । मेरो बुवा पञ्चायतकालमा प्रधानपञ्च हुनुहुन्थ्यो । बुवापछि जेठो दाई (देवेन्द्र राई)ले पनि राजनीतिमा रहेर सेवा गर्नुभयो । उहाँ नेपाली कांग्रेसको उपसभापति भएर ‘रिटायर्ड’ हुनुभयो, म जोडिए । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिए । हामी सात सन्तान । जेठो दाईपछि परिवारमा राजनीतिको बिडो मैले थामे । एसएलसी उत्तीर्ण गरेपछि म ओखलढुंगाको हिमालय पारामेडिकल सोब्रुमा अध्ययन गर्न पुगे । ओखलढुंगाबाट फर्केर खोटाङ आएपछि उच्च तह अध्ययनका लागि दिक्तेल बहुमुखी क्याम्पसमा भर्ना भए । स्नातक पढ्दै गर्दा क्याम्पस इकाई समितिको कोषाध्यक्ष बने । पछिल्लो समय नेपाल महिला विकास संघको जिल्ला सचिवको रुपमा पनि काम गरे । अन्तरपार्टी महिला सञ्जाल जिल्लाको संस्थापक अध्यक्ष पनि बने । पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा चुनिए । प्रदेश १ को सदस्य र संसदीय समितिमा पनि संलग्न भइसकेको छु ।

राजनीतिक दलहरु जनताको पीर मर्का सम्बोधन गर्नुभन्दा पनि आफूआफूबीच प्रतिस्पर्धा गरेर दुनो सोझाउने गरेको अवस्थामा तपाई राजनीतिलाई कसरी हेर्नुुहुन्छ ?

राजनीतिले एउटा निकास दिनुपर्छ । मुलुकको नेतृत्व सम्हाल्ने भएकाले विचारसहित राजनीतिको संस्कार बसाल्न जरुरी छ । तर, अहिलेको अवस्थालाई हेर्ने हो भने राजनीतिक शुद्धता बरालिएकै देखिन्छ ।

तपाई नगरपालिकाको उपमेयरपछि अहिले मेयरमा निर्वाचित हुनुभएको छ । कस्तो महशुस गर्नुभएको छ मेयर र उपमेयर हुनुमा ?

पाँच वर्ष उमपेयर भएको अनुभव र अहिले मेयर हुनुमा कुनै फरकपन पाएको छैन । म उपमेयर हुँदा जे मेरो जिम्मेवारी थियो त्यो इमान्दारपूर्वक पूरा गरे । खाली यत्तिमात्र हो नगरको ‘फस्र्ट म्यान’ भएकोले केही जिम्मेवारी बढेको छ। योजना, मोनिटरिङ, न्याय समितिसँग जोडिएका अन्य थुप्रै समितिहरु छन् । र, अब गर्नु नै छ ।

महिलालाई नेपाली समाजमा अझैँ पनि कमजोरको दृष्टिले हेरिन्छ । विभिन्न पार्टीमा पनि महिलाको उपस्थिति हेर्दा त्यो प्रष्टिन्छ नै । तपाईलाई चाहिँ पार्टीले मेयरको उम्मेदवारी कसरी स्वीकार्यो ?

मलाई पार्टीले यत्रो ठूलो जिम्मेवारी किन दियो भन्ने प्रश्न छँदै छैन । पार्टीमा जिम्मेवारी, क्षमता, योगदान नै मूल्यांकन गरेर म आज यहाँसम्म आएको छु । महिलालाई पार्टीले कसरी हेर्छ भन्ने कुरामा मैले मेयर टिकट पाए भन्दै महिलालाई पार्टीले हेर्यो भन्दिन म । किनभने प्रदेश १ मा ४९ वटा नगरपालिकामा २ जनामात्र महिलाले मेयरको टिकट पाउनु भनेको एकदम न्यून हो । महिलाको हकमा कुरा गर्ने हो भने गठबन्धनले महिलाले योग्यता पुगेर पनि दाबी गर्न पाएको देखिएन । भनौँ न पुरुषवाद अर्थात् लैंगिकवाद हावी भयो ।

उपमेयर पनि भएर नगरपालिकाको जिम्मेवारी सम्हालिसक्नुभएको छ । महिला भएर काम गर्न सकिँदैन रहेछ भन्ने कहिल्यै सोच्नुभयो ?

म महिला हुँ, महिलै भएको कारण हेप्छन् भन्ने कहिल्यै सोचिन । कन्फिडेन्स, पर्फमेन्स दिन सक्दिन भन्ने आज पनि छैन, भोलि पनि छैन । अहिले पनि लाग्दैन महिला मेयर भए, कमजोरी पो छु कि भन्ने । र, सोच्दै सोचेको पनि छैन । म त झन् अब्बल काम गर्ने सोचमा छु ।

उपमेयर भएर जिम्मेवारी सम्हालेको पाँच वर्षको अवधिमा नगरभित्र के के विकासका कामहरु भए र समस्याहरु के के बाँकी रहे ?

विकास गतिशिल हो र सदावहार अघि बढ्छ नै । अर्काे कुरा, कुनै पनि विकास काम एकैचोटी पूरा हुँदैनन् । यो प्रक्रियागत रुपमा अघि बढ्दै जाने कुरा हो । यसो भन्नुको मतलब ढिला गर्नुपर्छ भन्ने कदापि होइन, हामी अहिले स्थानीय जनताका आधारभूत आवश्यक्ता पूरा गर्ने चरणमा छौँ । खासगरी विकास भन्नेवित्तिकै हाम्रो मानसपटलमा ठूल्ठूलामा भौतिक पूर्वाधारको विकास भन्नेमै ठोकिन्छ । जस्तैः सडक । सडकको सम्बोधन त गर्नु नै छ तर, पहाडमा विकाससँगै वातावरणीय विनास, जैविक प्रकोपलाई पनि त उत्तिकै ध्यान दिनुपर्ने हामीसँग बाध्यताहरु छन् । यसकारण यी सबै कुराको लेखाजोखा गरेरै हामी अघि बढिरहेका छौँ । मुख्यतः वैदेशिक रोजगारी दीर्घकालीन निकास होइन यसको विकल्प खोज्नु नै छ ।

निर्वाचित हुनुअघिको समस्या एउटा ज्यूँका त्यूँ नै छ । त्यो समस्या हो पानी । यसको एउटै कारण नगरमा पर्याप्त पानीको मुहान अभाव हो । तत्कालीन प्रधानमन्त्री शुसिल कोइरालको सरकार हुँदा तत्कालीन ७ वडा गाविस (हाल नगरपालिकामा गाभिएका छन्) मा दूधकोशी नदीको पानी ‘लिफ्टिङ’ गरेर नगरवासीलाई पानी खुवाउने प्रस्ताव अघि बढेको थियो । त्यतिबेला अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो । उहाँले नै खानेपानीका लागि बजेट छुटाइदिनुभएको थियो । खानेपानीका लागि बजेट छुटिए पनि विविध कारणवश अझैँ यो योजना सम्पन्न हुन सकेको छैन । अर्कातिर ठेकेदारले पनि समयमै काम सम्पन्न नगरेको कारण पनि केही समस्या आएको छ । तर, खानेपानीको काम ८० प्रतिशत सकिएको छ भने बाँकी २० प्रतिशत रहेको छ । यसका लागि खानेपानी मन्त्रीका लागि नगरपालिकाले भनिसकेको छ र अब केही समयमै यो योजना सम्पन्न हुँदैछ ।

अबको पाँच वर्षको अवधिमा हलेसी तुवाचुङ नगरपालिका अन्य नगरपालिकाभन्दा के फरक भएको देख्न पाइन्छ ?

पहिलो कुरा, अरुको नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाबीच तुलना गर्नै मिल्दैन । भौगोलिक बनावट, जनसंख्या, धार्मिक र पर्यटकीय हिसाबले पनि हलेसी तुवाचुङ नगरपालिका र अन्य नगरपालिकाबीच तुलना गर्न मिल्दैन । हामीसँग भएको सुनकोशी र दुधकोशी नदीको पानीलाई सदुपयोग गर्न सक्यौँ भने निकट १० वर्षभित्र अर्कै गतिमा अघि बढ्छौँ । म भन्दिन मेरै कार्यकालमा सबै विकास गरेर देखाउँछु तर, यो भन्न सक्छु मैले सुरु गरेको योजना वर्षाै वर्षसम्म प्रभाव रहनेछ । यसकारण अबको १५ वर्षपछि बीचमा यो नगरपालिकाको परिवर्तन बेग्लै हुनेछ र यहाँका बासिन्दाहरुले गर्वका साथ विकासको कुरा भन्न पाउनेछन् ।

खोटाङ भन्नेवित्तिकै हलेसी आइहाल्छ । यहिँ धार्मिक नामबाट हलेसी तुवाचुङ नगरपालिका बनेको छ । तपाईलाई के लाग्छ नामअनुसारको काम र विकास भएका छन् कि छैनन् ?

मेयरमा निर्वाचित भएपछि पदभार ग्रहण गर्दा नै मैले ५ बुँदाबारे काम गर्ने निर्णय गरेको छ । पहिलो त यो नगरपालिका अरुभन्दा फरक छ यसका लागि स्रोत व्यवस्थापनको खाँचो । योसँगै धार्मिक र पर्यटनको विस्तारलाई प्राथमिकता दिएको छु । यी सबै योजना पूरा गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुको टोली गठन गरेर अघि बढिनेछ । नगरका कुनै पनि पनि वडालाई पछि राखेर अघि बढ्दिन । युद्धमा जाँदा के के तयारी गर्नुपर्ने सबै तयारी गरेर नगर अघि बढिनेछ । हलेसी सन्दर्भमा अबको केही समयपछि हलेसी मन्दिरमा दैनिक कति दर्शनार्थीले प्रवेश गर्नुहुन्छ भन्नेतर्फ ‘हेड काउन्ट’ मेसिनको प्रोसेमा छु म । मन्दिरबाहिर र भित्र कति जना दर्शनार्थीहरु हुनुहुन्छ भन्ने सबै विवरण रेकर्ड हुनेछ ।

चुनावी घोषणा पत्रलाई एकछिन थाँती राखेर अबको पाँच वर्षको अवधिमा नगरपालिकालाई द्रुत गतिमा हाँक्ने तपाईसँग के के मुख्य एजेन्डाहरु छन् ?

पहिलो प्राथकिता पानी नै हो । दोस्रो प्राथमिकतामा कृषि र पर्यटनलाई सँगै राखेका छौँ । तेस्रो शिक्षा र स्वास्थ्य । चाैँथोमा स्वरोजगार । त्यसपछि क्रमशः रहेका छन् । स्वास्थ्यतर्फ कुरा गर्नुपर्दा एक महिला वा एकल पुरुष, अपांगता, अभिभावकविहीन बालबालिकाहरुका लागि नगरले निशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । नगर अस्पताल पनि बन्दैछ ।

अर्कातिर नगरभित्र नियाल्दा विदेशबाट आएको अधिकांश रकम शिक्षा र स्वास्थ्यमै खर्च भएको छ । विदेश गएर छोराछोरीलाई बोर्डिङ पढाउने अभिभावकको इच्छा छ र यसका लागि बाहिर जानुपर्ने बाध्यता छ । तर, अब यहिँ वर्षदेखि कम्तिमा पनि ३ वटा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गर्नेछौँ । फेरि यहाँको भाषालाईचाहिँ शिक्षामा समावेश नगर्ने भन्ने होइन । चाम्लिङ भाषाबाट यहाँ पठनपाठन सुरु भइसकेको छ र यो निरन्तर अघि बढिरहनेछ । अर्काे कुरा म आफू पनि तिलुङ भएको मेरो भाषालाई प्राथमिकता दिएको हैन । कसुन्डा र बरामुजस्तै लोपोन्मुख हुँदै गएको तिलुङ भाषालाई पनि पाठ्यक्रममा समावेश गरिनेछ । साथै, नगरभित्रका जुनसुकै भाषालाई पठनपाठनका रुपमा अघि बढाइनेछ । यसरी सबै भाषाभाषीबाट पठनपाठन सुरु हुनु राष्ट्रको गौरव हो ।

नगरभित्रका वडामा विभिन्न पार्टीबाट चुनिएर आएका जनप्रतिनिधिहरु छन् । काम गर्न कति सजिलो होला ?

म आफैँ पनि पार्टीबाट मेयर भएको हो नि । मेयर भए भन्दैमा एक्लौटी गतिविधि गर्न मिल्ला ? यो बुझ्न जरुरी छ । बहुमत हुँदा हुँदै पनि म कुनै स्वार्थलाई अघि बढेर हिँड्दिन । जनताबाट निर्वाचित भएपछि हामी सबै दलका नेता होइन जनताको सेवक हुँ भन्ने सम्झिन जरुरी छ ।

कुनै पनि योजना सफल पार्न दक्ष कर्मचारीबिना अधुरै नै हुन्छ । अबको पाँच वर्षको अवधिमा कर्मचारीसँग कसरी सहकार्य गर्नुहुन्छ ?

यो अत्यन्तै गम्भीर प्रश्न हो । यो पाँच वर्षअघि पनि भोगेर आएको छु । प्रमुख प्रशासकीय अधिकृत नबसेको, परिवर्तन भइरहेको अवस्थामा त्यो अवधिमा सोचेजस्तो काम गर्न पाएनौँ । अब, अहिले के हुन्छ भन्ने कुरामा हामीसँग जति कर्मचारी छन् उहाँलाई दण्ड होइन मोटिभेट गरेर काम गर्नेछौँ । हामी कोही पनि हाकिम र पियन हुने छैनौँ । दर्जाभन्दा पनि जिम्मेवारी निर्वाह गरेर अघि बढिनेछ ।

प्रसंग बदलौँ, वैशाख ३० को स्थानीय चुनावमा केन्द्रबाट पाँच दलीय गठबन्धन गरेर चुनावमा जान निर्देशन थियो तर, तपाईहरुले गठबन्धन नगरि चुनावमा होमिनुभयो, जित्नु पनि भयो, केन्द्रको निर्देशन त मान्नुभएन नि ?

हामी नमानेको होइन । नेपाली कांग्रेस ४ वटा स्थानीय तहमा आफू एक्लै लड्छ र बाँकी स्थानीय तहमा सहकार्य गर्छ भनेर छलफल भएको हो । र, एक्लै लड्नेमा हलेसी तुवाचुङ नगरपालिका हो । पाँच दलबीच त्यस्तो खालको जेन्टल सम्झौँता थियो कि सक्दा आफू लड्ने, नसक्दा गठबन्धन गर्ने । यसबीचमा गठबन्धनकै केही दल बेइमानी गरेर एमालेसँग मिल्नुभयो तैपनि चुनाव मैले जिते ।

कार्यकर्ता भर्ति केन्द्र नै बनेको देखियो । यसबाट हलेसी तुवाचुङ नगरपालिका कति अछुतो रहला ?

हो यसमा ढाट्नुपर्ने कुरै छैन । यो नगरपालिका पनि कार्यकर्ताको भर्ति केन्द्रबाट हिजो अछुतो थिएन । तर, अब त्यस्तो हुँदैन । एक्सन अघि बढ्छ । रोजगारी भन्नेवित्तिकै तलबी कुरालाई मात्र लिइयो, यहिँ गलत छ । सरकारले तोकेको पारिश्रमिक हेर्ने हो भने न्यूनतम १५ हजार छ तर, मान्छे ४ हजार तलबमै काम गर्न बाध्य छ । हो यहिँ समस्या चिर्न चाहन्छु म । तलबमा मात्र भर पर्ने यो परम्परा अन्त्य गरेर १५ हजार कमाउने क्षमता बनाउन चाहन्छु ।

अन्त्यमा जाँदाजाँदै केही भन्नुहुन्छ ?

मेरै एउटै मात्र भन्नु छ– विकास निर्माणका सन्दर्भमा कोही छुट्ने छैन । सबै एकजुट भई साझा हिसाबले नगरपालिकाको विकासमा होमिनेछाैँ।

LIVE TV