१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान ठोकिएको आशंका गरिएको ठाउँ मानव बस्तीभन्दा निकै दूर र उच्च पहाडमा रहेको अनुमान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने विमानस्थलले जनाएको छ ।

विमानस्थलले भनेको छ, ‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन ।आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।’

सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV