१४ जेष्ठ २०७९, शनिबार

काठमाडौं । ‘सोमबारे हाटैमा’ गीत लिएर गीतकार किशोर चाम्लिङ दर्शकमाझ आएका छन् । पूर्वेली लोक भाकामा गाइएको ‘सोमबारे हाटैमा’ गीतमा सुनिता थेगिम र रत्न राईको स्वर रहेको छ । उक्त गीत शनिबार टाइमलाइन टिभीमार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमजोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । गीतमा केटा र केटीको भेटघाट र त्यसपछि बसेको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् ।

गीतको सुरु केटाबाट सुरु हुन्छ । केटाले आफूहरुको पहिलो भेट खोटाङको तुवाचुङमा साकेला नाच्दा जाँदा भेट भएको बेलीविस्तार गीतमार्फत लगाउँछ । त्यसपछि सन्जोगले दोस्रो भेट फेरि रम्भुवा मेलैमा भएको भनेर केटी मस्किन्छे । यसरी नै गीत नदीजसरी सलल बगेको ।

स्टुडियो किङमा रेकर्ड गरिएको १० मिनेट ३ सेकेन्डको गीतको संगीत गायक रत्न राई स्वयंले भरेका छन् भने एरेन्ज कृष्णभक्त राईले गरेका छन् । यस्तै, गीतको कोरस मनिषा राई र दिपा तामाङले निर्वाह गरेका छन् भने गीत रेकर्ड मनिष राईले गरेका छन् । गीतको मिक्सिङ/मास्टरिङ राजु कार्कीको रहेको छ भने क्यामेरातर्फ मनोज राई रहेका छन् ।

सरल भाषामा प्रेमजोडीको प्रेमसँगै गाउँले जीवनबारे पनि गीतकारले शब्दमार्फत बयान गरेका छन् । गाउँको मेलपात, हलेसी बजार, कानैमा ढुङ्ग्री नाकैमा फुली, खाँडीको थान, कपासको धागो, घुर्यानको बारी, गाईगोठलगायत दृश्यहरुलाई गीतकार चाम्लिङले गीतमार्फत सजिलो ढंगले  वर्णन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

 

LIVE TV