१४ जेष्ठ २०७९, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् । स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थन मात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गरे ।

शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकिर समेत गरे ।

निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाइ थियो । उनले विपक्ष दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राखे ।

महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भइसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरुलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमती व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ ।’

उनले थपे, ‘त्यसैले यो बेलामा साथीहरुले भन्नु भो–घण्टौ बसेर बोल्ने ? मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेटी कसेर बोलेपनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो । हामी केवल विचारा मात्रै भन्न सक्छौ, यति हो । निर्वाचन हुँदैन–हुँदैन भनियो । शान्दार ढंगले निर्वाचन भयो । त्यो पनि एकैपटक सम्पन्न भयो ।’

त्यस्तै महामन्त्री थापाले सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिवद्धता पनि व्यक्त गरे । स्थानीय तहको निर्वाचन शान्दार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसीर भित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए ।

उनले मुलुकमा गम्भीर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट पार्न सकिने भएकाले त्यस विषयमा सरकारलाई गम्भिर बन्न पनि ध्यानाकर्षण गराए ।

उनले भने, ‘मंसीरमा हामी निर्वाचन गराउँछौं । यो मंसीरसम्ममा सन्तुलित परराष्ट्र नीतिको आधारमा आफ्नो अन्तर्राष्ट्रिय व्यवहार सरकारले गर्छ भन्ने विश्वास व्यक्त गर्छु । मुख्य कुरा भनेको अर्थतन्त्र हाम्रो जुन अवस्था छ, यो समस्याग्रस्त मात्रै होईन है । एक प्रकारले संकटमा फस्न थालिसकेको छ । आन्तरिक र बाह्य कारणले जोखिम आइसक्यो । यो जोखिमलाई सम्बोधन गर्ने कुरामा सरकारको सबैभन्दा बढि ध्यान यसमा जानुपर्नेछ । आजको सबैभन्दा ठूलो चुनौती भनेको विजनेश एज युजल गरेर हाम्रो इकोनोमीले धान्नै सक्दैन । गएको दश महिनाको मात्रै हामीले हाम्रो व्यापार घाटा हे¥यौ भने करिवकरिव १६ खर्वको सामान हामीले ल्याउने तर एक खर्वको बेच्ने ।’

उनले थपे, ‘हाम्रो लागि व्यापार घाटा सबैभन्दा चिन्ताको विषय हो । यसको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ । यस्तो बेलामा हामीले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्वकांक्षी सोच राख्नैपर्छ । सरकारको नीति तथा कार्यक्रममा परेको छ । पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने कुरा हाम्रो सबैभन्दा ठूलो प्राथमिकताको विषय हुनुपर्छ । यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो ।’

यसका साथै महामन्त्री थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

LIVE TV