१२ जेष्ठ २०७९, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । वीरगन्ज महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रमुख निर्वाचन अधिकृत एवं न्यायाधीश धर्मराज पौडेलले वीरगन्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

आदर्शनगर पुरानो बसपार्कस्थित आयोजित सपथग्रहण कार्यक्रममा नव निर्वाचित नगर प्रमुख सिंहले उपप्रमुख इम्तियाज आलमलगायत ३२ वटै वडाका वडाध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा उपस्थित यादवले स्थानीय तह विकास निर्माण कार्यलाई अगाडि बढाउनका लागि सबैभन्दा महत्वपूर्ण इकाई रहेको भन्दै नव निर्वाचित जनप्रतिनिधिहरुले वीरगन्ज महानगरपालिकाको समस्याहरुलाई समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

मुलुकमा धेरै लामो संघर्ष, त्याग, बलिदानपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक स्वतन्त्रता, मौलिक हक अधिकार प्राप्त भएको भन्दै यसलाई राजनीतिक रुपमा संस्थागत गर्दै आर्थिक रुपमा विकास एवं समृद्धितर्फ बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

लोकतन्त्रको अभावमा कहिलेपनि आर्थिक समृद्धि एवं विकास सम्भव नरहेको भन्दै जहाँ असामानता र शोसण रहन्छ त्यहाँ राजनीतिक स्थिरता सम्भव नरहने र त्यहाँ विकास धेरै कठिनाई हुने भन्दै प्राप्त अधिकारलाई संस्थागत एवं संरक्षण गर्दै बाँकी राजनीतिक परिवर्तनलाई अगाडि बढाउँदै आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले विकासको सबैभन्दा ठूलो आधार शिक्षा हो ! बालबालिकाहरुलाई स्तरीय शिक्षा प्राप्त गरी असल नागरिकको निर्माण हुन्छ, तब विकास आफै अगाडि बढ्ने भन्दै दुर्भाग्यवस् सरकारी विद्यालयका शिक्षा स्तर गुणस्तरीय नभएको उल्लेख गरे ।

यसका साथै स्वास्थ्यमा पनि धेरै समस्या रहेकोले अस्पतालहरुलाई दुरुस्त गर्न, स्वास्थ्य चौकीहरुको स्थापना गर्न आवश्यक रहेको बताए । प्रत्येक नागरिकको स्वास्थ्य एवं शिक्षाको मौलिक हक अधिकारलाई प्रत्याभूति गराउन महानगरपालिकाको मुख्य दायित्व रहेको बताए ।

काठमाडौं नेपालको राजधानी रहेपनि वीरगन्ज नेपालको आर्थिक राजधानी रहेकोले यसको छुट्टै महत्व रहेको भन्दै उद्योग कलकारखाना तीब्र गतिमा विकास, व्यवस्थापन, सहुलियतलाई मध्यनजर राख्दै महानगरपालिकाबाट सम्भव हुने सहुलितय प्रदान गर्ने बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विद्युत लगायत सम्पूर्ण आधारभूत समस्यालाई समाधान गर्दै स्वच्छ, हराभरा विकासित महानगरको रुपमा रुपान्तरण गर्न सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

साथै पाँचदलीय गठबन्धनमाथि विश्वास गरेर मतदान गर्ने वीरगन्जका मतदाताहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा नव निर्वाचित नगरप्रमुख राजेशमान सिंहले वीरगन्जबासीले आफूमाथि लादेको कर्ज चुकाउन सक्ने कि नसक्ने अन्यौलमा परेको बताए । यो जितमा गठबन्धनको योगदानको साथसाथै वीरगन्जबासीलगायत युवाहरुको ठूलो योगदान रहेको बताए ।

‘राजेशमान सिंह जो बोल्छ, त्यो गर्छ । त्यति बोल्छ जति गर्न सक्छ’, भन्दै आफू विजयी भएर आएको २४ घण्टाभित्र सुधार गर्ने भनेको प्रतिबद्धताको कार्य शुरु भइसकेको बताए । उनले भने, ‘वीरगन्ज महानगरपालिकामा परिवर्तनको शुरुवात भइसकेको छ । वीरगन्जलाई समृद्ध वीरगन्ज बनाउनुपर्ने छ । र त्यसमा वीरगन्जबासीको साथ र सहयोगको आवश्यक रहेको छ ।’

वीरगन्जबासीले आफूमाथि गरेको भरोसाप्रति आफू खरो रुपमा उत्रिने भन्दै नगर प्रमुख सिंहले महानगरपालिकामा परिवर्तन अत्यावश्यक भएको भन्दै परिवर्तनको शुरुवात भइसकेको बताए । उनले महानगरका कर्मचारीहरुले कहिलेपनि सफा नगरेको आफ्नो घर अगाडि विहानै २० जना नगरपालिकाका कर्मचारीहरुले सरसफाई गरेको उदाहारण दिदै भने, ‘जसको कारण हामी छौं, त्यसलाई सेवा सुविधा दिने गरौं ।’

नेताहरुलाई सेवा सुविधा दिने काम बन्द गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे । जबसम्म १०० दिन काम गरि जनतालाई प्रत्याभूति दिलाउने काम नगरेसम्म आफूलाई कहिँ कतै सम्मान गर्न नबोलाउन विभिन्न संघ सँस्थालाई आग्रह समेत गरे ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको सभापतित्वमा आयोजित कार्यक्रममा जसपाका संघीय सांसद प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, नव निर्वाचित उपप्रमुख इम्तियाज आलम, नेकपा एसका नेता बालगोपाल थापा लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

LIVE TV