१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । श्रीमतीको हत्यापछि जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । विहीबार कैद सजायमा छुट दिने सर्वोच्चको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले उल्टाउने फैसला गरेको हो ।

यसअघि महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । करिब ९ वर्ष अगाडि कोइरालाले आफ्नो श्रीमती गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए ।

त्यसपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । तर, गत वर्षको असार १५ मा निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै कोइरालाको कैद सजाय घटाउने फैसला गरेको थियो ।

तर, राणा र केसीको संयुक्त इजलासको फैसला गैरकानूनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV