१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति नरहेको आरोप लगाएका छन् । विहीबार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको उल्लेख गर्दै भनेका छन्, ‘नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति छैन । कार्यक्रम छैन, भिजन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य, सन्तव्य केही छैन ।’

यसका साथै अध्यक्ष ओलीले कांग्रेससँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँटसमेत नरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘विरोध गरिन्जेल गर्ने, हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।’

उनले थप भनेका छन्, ‘कांग्रेससँग सत्ताभोग केन्द्रित नियतको नीतिबाहेक देश र जनताका लागि कुनै नीति र कार्यक्रम छैन । नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने । त्यसका लागि जे जे पूर्वाधार (हातले रुपैयाँको इशारा गर्दै) तयार गर्नुपर्छ गर्ने । कांग्रेसले यस नीति तथा कार्यक्रम मार्फत आफ्नो पहिचान पनि गुमाएको छ ।’

त्यस्तै अध्यक्ष ओलीले सरकारलाई बैकल्पिक नीति ल्याउन चुनौती दिदै भनेका छन्, ‘अन्य राजनीतिक दलहरूका सिद्धान्त, नीति, कार्यक्रम र एजेन्डाहरूको सुरुमा चर्को विरोध गर्ने, प्रतिवाद गर्ने, अस्वीकार गर्ने पछि केही समयको बीचमा मौका छोपेर तिनै सिद्धान्त, नीति, कार्यक्रम र एजेण्डाबाट लाभ लिने !’

उनले थपे, ‘आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने, अनुचित सहारा लिएर सत्ताभोगका लागि अनुकूल इकोसिस्टम तयार गर्ने कांग्रेसको खान्दानी सिद्धान्त हो ।’

LIVE TV