१२ जेष्ठ २०७९, बिहीबार

एजेन्सी । दक्षिणकोरिया, संयुक्त राज्य अमेरिका र जापानबीचको बलियो गठबन्धनले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरतालाई कमजोर बनाउने र नयाँ शीतयुद्धको सुरुवात गर्ने दक्षिणकोरियाका एक विज्ञले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष पदभार ग्रहण गरेपछि मङ्गलबार आफ्नो पहिलो एसिया भ्रमण पूरा गरेको र तीन देशबीच सहकार्य हुने अभिव्यक्ति सार्वजनिक भएपछि दक्षिणकोरियाका विज्ञले यस्तो टिप्पणी गरेका हुन् ।

“अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनका लागि साझा शत्रु देश चाहिन्छ.. संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी र शत्रुको रूपमा हेर्छ,”
कोरियाको पूर्वी एसियाली अध्ययन संस्थानका निर्देशक वू सु–केउनले दक्षिणकोरिया–अमेरिका–जापानबीचको गठबन्धनबाट उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता कमजोर हुने बताए ।

त्रिदेशीय गठबन्धन दक्षिणकोरियाको राष्ट्रिय हितमा नरहेको बताउँदै उनले वैचारिक युगको अन्त्य र विश्वव्यापी समाजको आगमनको अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायमा अब कुनै पनि शत्रु देश नभएको उल्लेख गरे ।

एसिया–प्रशान्त आर्थिक ढाँचामा सामेल हुने सोलको निर्णयलाई अवाञ्छनीय भन्दै उनले त्यसबाट टकराव र तनाव बढ्ने बताए ।

“संयुक्त राज्य अमेरिकाले यसलाई समावेशी र लचिलो आर्थिक रूपरेखा भनेको छ तर यदि यो समावेशी छ भने यसले कुनै निश्चित देशलाई बहिष्कार गर्न हुँदैन ।

चीन एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो देश हो । चीनलाई बहिष्कार गरेर कसरी समावेशी र लचिलो भन्न सकिन्छ ? ” दक्षिण कोरियाली विज्ञले प्रश्न गरेका छन्

प्रतिक्रिया दिनुहोस्
LIVE TV