१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलका कारणले गर्दा एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सम्बोधन गर्दै उनले भने, ‘एउटा ठाउँमा प्रतिपक्षका कारणले स्थगित भएको थिएन । सत्तामा बसिसकेपछि त सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन गर्नुपर्छ । जसरी पनि जित्नुपर्छ भनेर गीत नै गाइएको थियो ।’

उनले सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँ प्रहरी मुकदर्शक बनेको आरोप लगाए । सरकारले निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न भएको दाबी गरे पनि त्यसो हुन नसकेको बताए ।

उनले भने, ‘स्वच्छ हुन सकेन । धाँधलिरहित हुन सकेन । उम्मेदवार थुन्ने काम भयो, सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ । नगर्न भन्दा प्रतिपक्षी दलका कार्यकर्तालाई थुनिएको छ ।’

एमालेलाई पत्तासाफ गर्ने गठबन्धनको नीति भएको र त्यो असफल भएको उनले बताए । उनले भने, ‘गठबन्धनको घोषित नीति नै थियो । हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने । निर्वाचनका क्रममा त्यही प्रकट भएको छ ।’

 

 

LIVE TV