१० जेष्ठ २०७९, मंगलवार

सोलुखुम्बु । गत बैशाख ३० सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट माप्य दूधकोशी गाउँपालिका, सोलुखुम्बुको उपाध्यक्षमा निर्वाचित गौरब राईले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र पर्यटनलाई जोड दिएर अघि बढ्ने बताएका छन् । सपथ ग्रहणपश्चात पदभार ग्रहण गर्दै राईले यस्तो बताएका हुन् ।

पदभार ग्रहण गर्दै राईले भने, ‘शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा आवश्यक नीति निर्माण र त्यसको उचित व्यवस्थापनमा मेरो जोड रहने छ ।’ माप्य दूधकोशी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा विकृति छाएको बताउँदै उक्त कुराको व्यवस्थापन र नीति निर्माणको सन्दर्भमा जनप्रतिनिधिहरुले ध्यान पु¥याउनुपर्नेमा उपाध्यक्ष राईले जोड दिए ।

त्यसैगरि शिक्षाको क्षेत्रमा समेत नीति निर्माण र व्यवस्थापनमा कम्जोरी हुँदा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्र प्रवेश गर्ने द्वारको रुपमा रहेको माप्य दूधकोशी गाउँपालिकामा पर्यटन क्षेत्रलाई हेर्ने र नीति निर्माण तथा व्यवस्थापनमा कम्जोरी रहेको बताउँदै यसलाई सुधार गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भइसकेपश्चात आफूले आफ्नो गाउँपालिकामा रहेको बेरोजगारीको समस्यालाई उचित ढंगले समाधान गर्नेमा जोड दिने उनले बताएका छन् । त्यसका लागि उत्पादनमा जोड दिनु नै पहिलो विकल्प रहेको पनि उनले बताए ।

‘हामी उत्पादनमा कम्जोर हुँदै गएका छौं । उत्पादनमा जोड नदिने हो भने यहाँको बेरोजगारीको समस्यालाई न्युनिकरण गर्न सकिदैँन’, उनले भने, ‘अब हामी उत्पादन र उत्पादन भएका वस्तुको बजार व्यवस्थापनमा ध्यान दिने छौं ।’

नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्ष पदका लागि उमेदवार बनेका राईले नेकपा (एमाले)को प्रतिस्पर्धि जुनितामाया मगरलाई ३८ मतले पछि पार्दै उपाध्यक्ष पदमा बाजी मारेका हुन् ।

राईले ३ हजार ७७ मत प्राप्त गर्दा मगरले ३ हजार ३९ मत प्राप्त गरेकी थिइन् । जुनितामाया मगरले यसअघि उपाध्यक्षका रुपमा पहिलो कार्यकाल सम्हालिसकेको भए पनि यसपालि गौरब राईसँग बाजी हारेकी हुन् । लोकप्रिय मत प्राप्त गरेका राईको जम्मा ५९६ मत बदर भएर पनि निर्वाचनमा बाजी मार्न सफल भएका हुन् । बदर मत समेत सदर भइदिएको भए फराकिलो मतान्तरले आफ्नो प्रतिस्पर्धिलाई राईले पछि पार्ने थिए ।

२०५९ सालमा माओवादी जनयुद्धमा होमिएका राई जनकलाकारको रुपमा स्थापित छन् । कलाकारिता र संगठन दुवै क्षेत्रमा उतिकै सक्रिय रहेका राई सोलुखुम्बु जिल्लामा निकै लोकप्रिय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV