१० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारदेखि उठ्न थालेको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौँ महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मङ्गलबार पनि काठमाडौँबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायत क्षेत्रमा फोहोर उठेरनउठेको अनुगमन गरेका थिए ।

हाल काठमाडौं र ललितपुरबाट १०० वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए। स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

काठमाडौंमा नयाँ मेयरको आगमनअगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए। उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए।

यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो । काठमाडौं र ललितपुरका चोक र गल्लीमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV