१० जेष्ठ २०७९, मंगलवार
  • राम गोपाल तमखु,

भक्तपुर । सूर्यविनायक नगरपालिकाको मेयरको पदभार ग्रहणसँगै पहिलो निर्णय सम्पूर्ण नगरवासीलाई सूर्यविनायक नगर अस्पतालमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । मंगलबार नवनिर्वाचित मेयर बासुदेव थापाले सपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै पहिलो निर्णय गरेका हुन् ।

यस नगरपालिकाको निवर्तमान मेयर २०७९ बैशाख ३० सम्पन्न भएको निर्वाचनबाट दोस्रो कार्यकालको फेरि निर्वाचित भएका हुन् । नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ तथा स्वागत कार्यक्रममा पूर्व मन्त्री तथा सांसद महेश बस्नेतले नयाँ जनप्रतिनिधिहरुलाई आ–आफ्नो वडामा काम गर्न गाह्रो नहुने बताए ।

विगतमा भइरहेका कामलाई निरन्तरता दिँदै जानुपर्ने उनको भनाइ छ । नगर विकासको लागि सबै वडामा सडक विस्तारको लागि बजेट छुट्याईसकेको बताउँदै खानेपानीको लागि समेत बजेट आइसकेको जानकारी दिए । त्यस्तै नगरको समस्याको रुपमा रहेको फोहोरलाई पनि निजी कम्पनीहरुसँग मिलेर फोहोरलाई मोहरमा बदल्ने कामको पनि सुरुवाट भइसकेको बताए ।

त्यसको लागि गुण्डुमा ६४ रोपनीको सग्गामा डीपीआर तयार भइसकेको पनि जानकारी गराए । त्यस्तै बागमती प्रदेश सदस्य शसिजंङ्ग थापाले सफल जनप्रतिनिधिहरु दुई किसिमको (एक काम ठीक गर्ने, अर्काे ठीक काम गर्ने) हुने बताए ।

उनले भने, ‘ठीक काम गर्यो भने भोलि जनताले यो जनप्रतिनिधि ठीक भनि मुल्याङ्कन गर्छ ।’ त्यस्तै उनले सिंहदरबार घर–घरमा भन्ने गरेको बताउँदै थपे, ‘सिंह भनेको घमण्डको प्रतिक भएकोले यसलाई सिंह दरबारमै छोड्नुपर्छ । दरबार पनि सामन्तीको प्रतिक भएको यसलाई त्यहीँ छोडेर हामी जनताको सेवा गर्न आएकाले जनताकै घर–दैलोमा गएर सेवा गर्नु पर्नेर्छ ।’

त्यस्तै प्रमुख निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले सबै साजनितिक दल र सुरक्षा संयन्त्रको साथ र सहयोगमा निर्वाचन सफल भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै राजनीतिक दलहरुसँग राम्रो समन्वय गरेर सबै सुरक्षा निकायहरुको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको बताइन् । प्रजिअ शर्माले निर्वाचनलाई शान्तिपूर्ण तवरले सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सपूर्ण सरोकालवालाहरुलाई धन्यावाद दिदै नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई ज्ञापन गरिन् ।

नवनिर्वाचित मेयर बासुदेव थापाले विगतको पाँच वर्षमा काम पूरा गर्न नसकेको भन्दै अब बाँकी कामलाई पूर्णता दिने वचन दिदै सबै मतदाताले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिए । नगर बिकासको लागि कुनै स्वार्थ तथा प्रतिसोध नराखी काम गर्ने उनले प्रतिज्ञा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV