८ जेष्ठ २०७९, आईतवार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू-टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भ्यू-टावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकिर समेत गरे ।

आइतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यू-टावरको विरोध गरेको भन्दै नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बौं आम्दानी दिएको स्मरण गराए । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताए ।

उनले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘पोलिटिक्स गर्दिन यहाँ, यो साहित्यिक मञ्च । एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो–भ्यू टावर बनाउँदैनौं । भ्यूटावर बनाउने काम छैन । इफेल भन्ने ईन्जिनियर जसले ईफेल टावर बनाए । बुद्धि नभएका रहेछन कि क्या हो ? जो फ्रान्सको प्रतिक भएको छ । जसले फ्रान्सलाई अरबौको आम्दानी दिलाएको छ । भ्यूटावरभन्दा केही होइन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा । इफेल टावर, वासिंटन टावर र अन्तका टावरहरु, इतिहास, ऐतिहासिक धरोहर, हाम्रो उचाई, थुप्रै कुराहरु यसभित्र हुने गर्दछ ।’

उनले थपे, ‘तर, जब हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौं भने फर्गेट एस्टडे जस्ता कुराहरु पटक पटक आउँछन् । किनभने हामीसँग नगदानगदी विजनेश बाहेक अरु कुनै हुँदैन । किनभने हामी भावनामा छैनौं । हामी संवेदनशील छैनौं । हामी गर्वानूभूति गर्दैनौं । हामीसँग प्रेष्टिज भन्ने कुरा छैन । अव त्यसो भयो भने फर्गेट एस्टडे भनिरहनु पर्छ । डन्ट फर्गेट एस्टडे भन्ने गरी काम गरौं ।’

उनले फेरि भने, ‘गौरवपूर्ण कामहरु सम्झौं । गौरवपूर्ण इतिहासहरु सम्झौं । शुद्ध, पवित्र क्रियाकलाप गरेको सम्झौं । नराम्रो काम गर्दै नगराैं । कसैसँग भन्न नपरोस–घनिष्ट भन्दा घनिष्ट, जसलाई हामीले धोका दियौं । घनिष्टलाई धोका लिएर भोलिपल्ट फर्गेट एस्टडे भनेर दाँत देखाउन नपरोस् ।’

ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अव इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV