६ जेष्ठ २०७९, शुक्रबार
  • लाक्पा तेन्जी शेर्पा,

बुखारेष्ट (रोमनिया) । विश्वभर तीब्र रुपमा फैलिएको कोरोना महामारी सामान्य अवस्थामा फर्किन थालेपछि विभिन्न मुलुकमा विविध सेमिनार, गोष्ठी तथा संगीतिक कार्यक्रमहरु पनि आयोजना हुन थालेका छन् । सोही अवसरमा गत मे १५ (आइतबार)का दिन यूरोपियन मुलुक रोमनियाको ईतिहासमै पहिलो पटक भब्य नेपाली संगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार, चर्चित गायक राई इज किङ राजेश पायल राई, गायिका मिलन नेवार तथा पछिल्लो पुस्तामाझ निकै चर्चामा रहेका गायक चक्र बम र नेपाल आइडल सिजन ४ का विजेता बेनिशा पौडेलले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

रोमानियाका लागि नेपाली अवैतानिक वाणिज्यदूत नवराज पोख्रेलको विशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा रोमनियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

रोमनियान र नेपाली राष्ट्रियगानबाट सुरु भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिले निकै रोमाञ्चक बनाएको थियो । कार्यक्रममा सबै भन्दा बढी गायक राजेश पायल राईको प्रस्तुतिमा दर्शकहरु जुम्मिएका थिए ।

कार्यक्रममा उपस्थित सबैले आयोजक नरेश गिरीलाई बधाइ ज्ञापन गर्दै धन्यवाद दिएका थिए । कार्यक्रमलाई युवाराज लामिछाने र लोकेन्द्र खत्रीले सञ्चालन गरेका थिए ।

LIVE TV