६ जेष्ठ २०७९, शुक्रबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि पंकजविक्रम नेम्वाङले अध्यक्ष पदमा उमेदवारी दिएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेम्वाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितताविरुद्ध अध्यक्ष पदमा उमेदवारी दिएको बताएका छन् ।

नेम्वाङले शुक्रबार आफ्नो उमेदवारी घोषणा गरेका हुन् । चार वर्षअगाडि ‘परिवर्तनको निम्ति सामूहिक एकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता’ भन्ने सुन्दर नारा बेचेर शतप्रतिशत जितसहित नेतृत्वमा आएको उल्लेख गर्दै आफूहरुले सबै तहमा एकता हुनुपर्छ भनेर बारम्बार भनेको भएतापनि वर्तमान नेतृत्वले सँधै ‘फुटाउ र राज गर’को रणनीति लिएको उनको आरोप छ ।

त्यस्तै नेम्बाङले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गर्दै भनेका छन्, ‘अहिले एन्फामा आर्थिक अनियमितता चरमोत्कर्षमा पुगेको छ । हामीले हिजो पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता भनेका थियौँ । आज ठीक उल्टो भएको छ । त्यसविरुद्ध मेरो उम्मेदवारी हो ।’

यसका साथै उनले आफू नेतृत्वमा आए आर्थिक पारदर्शिता अपनाउने, एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय लिगलाई निरन्तरता दिने, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ लिगलाई व्यवस्थितरूपमा सञ्चालन गर्ने, ग्रासरुटका कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । सोही अवसरमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले पनि उमेदवारी दिएका छन् ।

 

 

LIVE TV