४ जेष्ठ २०७९, बुधबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका अनोज चौधरी विजयी भएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये पहिलो पालिकाको अन्तिम नतिजा अनुसार ३२ वर्षीय चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

मंगलबार राति आएको अन्तिम परिणाम अनुसार ४ हजार ५ सय ६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान गाँउपालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार रामपृत महताेलाई १ हजार २ सय ६१ मतले पराजित गरेका हुन् । अनोजले ४५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महताेले ३२९९ मत मात्रै ल्याएका छन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन् । रेखाले आफ्ना प्रतिद्वन्द्वी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाइ १ हजार ७ सय ४५ मतको अन्तरले पराजित गरेकी हुन् । रेखाले ४ हजार ७ सय १० मत प्राप्त गरेकी थिइन् भने निर्वतमान उपाध्यक्ष उषा देवीले थरुनीले २ हजार ९ सय ६५ मत मात्रै प्राप्त गरेकी थिइन् ।

पाँच वटा वडा रहेको जिराभवानी गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा नेपाली काँग्रेसले नै जित हासिल गरेको छ भने दुई वटा वडाको अध्यक्षमा एमालेले जित हात पारेको हो । नेपाली काँग्रेसले पालिकाको वडा नम्बर ३, ४ र ५ मा जित हात पारेको छ भने नेकपा एमालेले वडा नं. १ र २ को वडाअध्यक्षमा जित हासिल गरेको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

जिराभवानी गाँउपालिका अध्यक्षमा निर्वाचित ३२ वर्षिय अनोज, पूर्व गाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन् । आफ्ना बुबाको सपनालाई साकार पार्न भन्दै नेशनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका अनोज नेपाली काँग्रेस पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । फार्मेसी पेशासँग आबद्ध भई अनोज मास्टर इन फार्मेसीसम्म अध्ययन गरेका हुन् ।

LIVE TV