३ जेष्ठ २०७९, मंगलवार
  • केदार शर्मा,

चितवन । जिल्लाको माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले)की ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्ले दुई हजार १७२ मतान्तरले पराजित भएका हुन् ।

मेयरमा निर्वाचित महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।

उपमेयरमा भने कांग्रेसका खेम महतोले छ हजार ८३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए । महतो एक कार्यकाल उपमेयर भएर काम गरिसकेकि छन् ।

लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नं ६ मा जीत हात पारेको हो । वडा नं ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकिकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।

LIVE TV