३ जेष्ठ २०७९, मंगलवार
  • एल बि मगर

रोल्पा । रोल्पामा दुई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जनक पुन निर्वाचित भएका हुन् ।

जनकले नेकपा माओवादीका उम्मेदवार गोबिन्द पुन भन्दा ६८३ मत बढी ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी सरिता केसी विजयी भएकी छन् ।

रोल्पाकै गङगादेब गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार हरि पुन अध्यक्षमा र अमृता केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । हरिले एमालेका उम्मेदवार रोशन कुमार वलिभन्दा ४९ मत बढी ल्याएका छन् ।

हालसम्म कांग्रेसले रोल्पामा २ पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले एक नगरपालिका प्रमुखसहित ६ वटा स्थानीय तह प्रमुख–उपप्रमुख र ४६ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले एक वटा वडामा र स्वतन्त्र उम्मेदवारले एक वटा वडामा जित हासिल गरेको छ ।

२ पालिका र केही वडाको मत परिणाम आउन बाँकी रहेको छ ।

LIVE TV