१ जेष्ठ २०७९, आईतवार

काठमाडौं । राजनीतिक व्यवस्थालाई बेलाबखत परीक्षण गर्ने गतिलो माध्यम हो निर्वाचन । लोकतान्त्रिक व्यवस्थामा अन्य बेला दल र तिनका नेताको दबदबा हुने गरेपनि आवधिक निर्वाचनमा भने निर्णयको अधिकार जनताको मुठ्ठीमा हुन्छ ।

अधिकार प्रयोग गरिँदा परिवर्तन गरिहाल्ने मनस्थिति बन्दैन, तर अति भएपछि भने निर्वाचनको मत मार्फत असन्तुष्टि व्यक्त हुन्छ । अहिलेको स्थानीय निर्वाचनको मत परिणामले पनि पनि यही संकेत हो ? यो प्रश्नले आम नागरिकको मानसपटलमा डेरा जमाइरहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदको नतिजा बाहिरिँदै गर्दा यतिबेला मुलुकभर मात्रै होइन विदेशमा बसिरहेका नेपालीमा समेत कौतुहलता बढेको छ । निर्वाचन अघिको माहोल जति रोचक थियो, प्रारम्भिक मत परिणामले त्यसलाई नयाँ उचाईंमा पु¥यायो । पाँच दल मिलेर कांग्रेसबाट सृजना सिंहलाई उम्मेदवार बनायो । नेकपा एमालेले भने गठबन्धन पछार्ने रणनीतिसहित केशव स्थापितलाई मैदानमा खटायो ।

सत्तापक्ष र प्रतिपक्षबीच हुने भनिएको भिडन्तमा दलगत टेको बिना मैदानमा उत्रेका बालेन शाहले चुनौती दिनुलाई अवमूल्यन गर्न सकिँदैन । मुलुक दलगत राजनीतिमा चुर्लुम्म डुबेको सन्दर्भमा अहिलेको मत परिणामले तरंग ल्याउनुलाई स्वाभाविक मान्नुपर्छ । स्थानीय निर्वाचनमा काठमाडौंका मतदाताको रोजाईमा नयाँ अनुहार बालेन शाह पर्नुको कारण खोज्नेहरु अलमलमा छन् ।

यो प्रसंगलाई अहिले जित हारको कोणले मात्र विश्लेषण गर्दा पर्याप्त हुँदैन । स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले प्रारम्भिक अवस्थामा सनसनी मच्चाएको घटनासँग पञ्चायतकालीन निर्वाचन पनि जोडिन्छ ।

अहिलेको नतिजा जेजसरी आएको छ, यसमा मतदाताको मनोविज्ञानमा देखिएको विद्रोही शैलीले नै उत्प्रेरक भूमिका खेलेको देखिन्छ । यसअघिको स्थानीय निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाले पाएको मत पनि अहिले बालेनले पाएको मतसँग कुनै न कुनै रुपमा सम्बन्धित छ ।

यी दुबैको जरा जनताको परिवर्तनको चाहनासँग जोडिएको नकार्न कठिन छ । यस निर्वाचनका क्रममा प्रमुख दलले जसरी उम्मेदवार उठाए, अहिले पार्टीगत राजनीति गर्नेहरुमा समेत त्यसप्रतिको असन्तुष्टि देखिन्छ भने दलगत राजनीतिबाट निरपेक्ष हुनेमा निराशा आउनु स्वाभाविक नै हो ।

तर, प्रसंग यतिमा सीमित हुँदैन । बालेनको पक्षमा भोट आउनु एउटा पाटो हो, मतगणनाका क्रममा देखिएको तथ्यले अनेक भाष्य बोलिरहेको छ । ठूलो संख्यामा मतपत्रहरुमा लौरोमा मात्र भोट गरेर अन्य पदमा कुनै छाप नलागेको समेत पाइएको छ । यसले ‘नो भोट’ को व्यवस्था गर्नुपर्ने आम आवाजलाई प्रतिनिधित्व गरिरहेको बुझ्न कठिन छैन । काठमाडौं महानगरमा ५० प्रतिशत मत खस्नु र मेयर बाहेकको पदमा बदर मत बढी हुनुको अर्थ गहिरो छ ।

यस्तै दलहरुले आममतदाताको मनोविज्ञान उपेक्षा गरेकै हुन् । उम्मेदवार छनोटमा मतदाताको परिवर्तनको चाहना किल्चिने प्रवृत्तिले पनि परिवर्तनको चाहनालाई विद्रोहमा परिणत गरेको देखिन्छ । हरेक विद्रोह सडकमा च्याँठ्ठिएर र भौतिक संरचना भत्काएर मात्र गरिँदैन, मतपेटिकामा पनि असन्तुष्टिको भूकम्प ल्याउन सकिन्छ भन्ने तथ्यको बोध पनि हो ।

विगतमा पनि सत्ता विरुद्ध मतदाताले मतमार्फत असन्तुष्टि व्यक्त गरेको इतिहास छ । पञ्चायतकालमा नानिमैया दाहालको स्वतन्त्र उम्मेदवारीलाई विजयको माला लगाइदिएका काठमाडौंका मतदाताले राजनीतिक परिवर्तनको बिउ नै रोपिदिएको थियो । पञ्चायती व्यवस्थाको बेथितिबाट दिक्क भएकाले परिवर्तन चाहना त्यतिबेला पनि मतबाट व्यक्त गरेका थिए । अन्ततः पञ्चायती व्यवस्था धुलिसात भयो ।

काठमाडौं महानगरको मतगणनामा बालेन शाहले पाएको अग्रतालाई पनि यही प्रसंगसँग जोडिएको छ । राजनीतिक व्यवस्था परिवर्तन गरेर पनि मुलुकको अवस्था परिवर्तन गर्न नसक्ने प्रवृत्तिविरुद्धको विद्रोहको रुपमा बालेनको मतलाई व्याख्या गर्नुले धेरै अर्थमा दलहरुमाथि प्रश्नको वाणहरु प्रहार गरिरहेको छ ।

अन्तिम नतिजा जे–जस्तो आउँछ, त्यसले विजेता निक्र्यौल गर्ला । अहिले शीर्ष तीनमा रहेकाहरुको विजयको सम्भावना सकिएको छैन । तर, बालेनले पाइरहेको मतले दलहरुलाई भनिरहेको छ, ‘अब पनि सच्चिएनौ भने हामी सहनेवाला छैनौं’ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV