३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष ओलीले आज एक विज्ञप्ती जारी गरी मतदान गरेलगत्तै निधन भएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

त्यस्तै उनले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गरेका छन् । स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदाताहरुलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उनले जानकारी दिएका छन् ।

“त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु”, उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV