३० बैशाख २०७९, शुक्रबार

ललितपुर । जिल्लाका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो ।

ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी रहेको छ । वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना आजै सुरु गर्ने वा भोलि गर्ने भनी टुङ्गो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिनुभयो । नगरपालिकामा ५४ हजार ३९९ जना मतदाता रहेका छन् ।

महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ । त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशिला ज्ञवालीले जानकारी दिए।

वाग्मती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ । यहाँका १७ मध्ये पाँच मतदानस्थलमध्ये मात्रै मतपेटिका आइपुगेको छ । सबै मतपेटिका आइपुगेका मतगणना सुरु हुने उनले जानकारी दिए।

कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ । आज नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिए। मतगणना आज सुरु गर्ने तयारी रहेको उनले बताए। गाउँपालिकामा आठ हजार ५८८ मतदाता रहेका छन् । जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV