
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आक्रोशित भीडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।
मतदान अधिकृतले धाँधली गरेको भन्दै उक्त आक्रोशित भीडले मतपेटिका, टेबललगायतका निर्वाचन सामग्रीहरु तोडफोड गर्दै मतदानस्थल नै भताभुङ्ग पारेको छ ।
मतपेटिका भने प्रहरीले सुरक्षित राखिएको जनाएको छ । मतदान अधिकृतले एक जनालाई नै १०÷१० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् ।
त्यस्तै, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नपा–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।
कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । घाइते यादवलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।