३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । निर्वाचनका क्रममा अनौठा गतिविधि पनि हुन्छन् । तर यी गतिविधिमा शीर्ष नेता र चर्चित अनुहार संलग्न हुनु चाहिँ चकित नै परिन्छ ।

मतदान हुनुअघि निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने क्रम बढि हुन्छ । यसलाई रोक्न अनेक प्रयास गरिन्छ । तर, नियम उल्लंघन गर्ने क्रम मतदान गर्ने बेलासम्म पनि रोकिएको छैन ।

यसरी नियमको तोड्न अग्र पंक्तिमा पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नाम अगाडि आएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतपत्रमा छाप लगाउँदै गरेको फोटो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।

उनले शुक्रबार बिहान आफ्नो गृह जिल्ला गोरखाको पालुङटार– १ बाट आफूले छाप हानेको मतपत्रको फोटो हालेका हुन् । तर, यस्तो गर्नू निर्वाचनको आचार संहिता विपरीत हो ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV