३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । स्थानीय तहको निर्वाचन सुरु भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलिबाट मतदान गरेर निर्वाचन सुरु गरिएको हो ।

मतदान गरेपछि प्रमुख आयुक्त थपलियाले पनि निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरे ।

थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिनुहुन सबै मतदाताप्रति आग्रह गरे ।

आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV