३० बैशाख २०७९, शुक्रबार

म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए । सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्चमा मतगणना गर्ने र दर्शक दीर्घामा दल तथा उम्मेदवार बस्ने ठाउँ बनाइएको छ ।

धौलागिरि गाउँपालिकाको मुनास्थित कार्यालयको भवनको चेनगेटभन्दा बाहिर दलका प्रतिनिधि र उम्मेदवार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।

दरवाङमा मालिका गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा तारजालीले बारेर मतगणना गर्ने ठाउँ बनाएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय राखिएको कोठाको आधा भागमा मत गन्ने र आधा भागमा उम्मेदवार तथा दलका प्रतिनिधि बस्ने बनाएको छ ।

मङ्गला गाउँपालिकाको मतगणना बाबियाचौरको मङ्गला माविको भवनमा हुने भएको छ । मतगणनास्थलमा सिसीटिभी जडान र तारजाली लगाइसकेको निर्वाचत अधिकृत धर्मराज पौडेलले बताए ।

रघुगङ्गा गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयको सभाहलमा मतगणनास्थल बनाउन तारजालीले बारेर सिसीटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर आधारभूत विद्यालयको भवनमा मतगणना गरिने निर्वाचन अधिकृत जानुका सुवेदीले बताए । उनका अनुसार मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान र तारजाली लगाइएको छ ।

मतगणनाको समयमा हुनसक्ने सम्भावित घटनालाई पूर्वअनुमान विगतको चुनावको अनुभवबाट पाठ सिके यसपालि निर्वाचन आयोगले सिसीटिभी जडान गर्ने र तारजाली लगाउने नीति लिएको हो ।

छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV