३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ । मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि निर्वाचन हुन लागेको हो ।

आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् ।

थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिनुहुन सबै मतदाताप्रति आग्रह गरेका छन् ।

उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV