२८ बैशाख २०७९, बुधबार
  • प्रेम सुनार,

गुल्मी । जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीको दलित बस्तीमा नेकपा (एमाले)का कार्यकर्ताहरुले बाँड्न लागेका मदिरा तथा खाद्यवस्तु प्रहरीले जफत गरेको छ । गएराति १ बजेको समयमा सिर्सेनीको छापा दलित बस्तीमा एमालेका वडा सदस्य उमेदवार राम प्रसाद आचार्य र कृष्ण घिमिरेले बाँड्न लागेका ललिपप नामक ५ कार्टुन मदिरा र २ बोरा चामल बरामद गरेर स्थानीयले रियाले मावि मतदान केन्द्रमा तैनाथ प्रहरी र सशस्त्र प्रहरीलाई बुझाएका हुन् ।

वडा सदस्यका उम्मेदवारद्वय आचार्य र घिमिरेले लु१ज ४४४५ नम्बरको जीपमा उक्त मदिरा र चामल ल्याएका थिए । प्रहरी प्रवक्ता डीएसपी माधव राज खरेलका अनुसार उक्त गाडीसहितको मदिरालगायतका सामग्री पुर्कोटदह इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।

नेकपा (एमाले) मदाने गाउँ कमिटी अध्यक्ष तथा एमालेबाट त्यस गाउँपालिका अध्यक्षका उमेदवार प्रेम केसीले भने हिजो आफ्ना उमेदवारहरु घर हिडेको र विहान फसाउनका लागि मदिरालगायतको समान गाडीमा राखेर समस्यामा पारेको प्रतिकृया दिए ।

गठबन्धनका कार्यकर्ता बिक्रम सेनले भने हिजो रातिनै त्यस गाडीभित्र रहेको मदिरा र चामल आफूहरुले क्यामेरामा कैद गरेको भन्दै सामाजिक सन्जालमा राखेका छन् । राति नै प्रहरीको नियन्त्रणमा भएको गाडीमा अरु कसैले केही राख्नसक्छ ? भन्दै सेनले प्रश्न गरे ।

वडा नम्बर ३ का कांग्रेस वडा सभापति चेत बहादुर सेनले विशेषत् दलित बस्तीमा एमाले कार्यकर्ताहरुले माछा–मासु, जाँड–रक्सी र अन्य प्रलोभनमा पार्ने चिजहरु वितरण गर्दै आएको आरोप लगाउदै गठबन्धनले दिनरात नै युवाको निगरानी समूह परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV