२५ बैशाख २०७९, आईतवार

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आतंक अन्त्य गर्नका लागि गठबन्धनका नेताहरुलाई जिताउनु आवश्यक रहेको बताएका छन् । आइतबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

त्यस्तै सभापति देउवाले हिजो जस्तै फेरि पनि केपी ओलीले पार्लियमेन्टको पटक–पटक भंग गर्न सक्ने उल्लेख गर्दै भने, ‘ओलीको आतंक अन्त्य गर्न पनि गठबन्धनका नेताहरुलाई जिताउनु आवश्यक छ । ओलीले हिजो जितेर गए, हिजोजस्तो फेरि पनि पार्लियामेन्टको पटकपटक भंग गर्न सक्छन् । हिजो पनि विरोध सहन नसेकेर संसद भंग गरे । यसैको स्वरुप हामीले अदालतमा गएर पार्लियमेन्ट फिर्ता ग¥यौं ।’

यसका साथै सभापति देउवाले राजनीतिक स्थायित्व बचाउनका लागि अहिलेका पार्टीहरु सबै ठाउँमा मिलेर जानुपर्ने विचार ब्यक्त गर्दै भनेका छन्, ‘माधव नेपालको र प्रचण्डको पार्टीले एउटा महानगरमा चित्त बुझाएका छन् । यसैले उहाँहरु भन्दा बढी लागेर कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक छ । गठबन्धन सबैभन्दा बढी कांग्रेसका लागि आवश्यक छ ।’

त्यस्तै उनले कांग्रेसका लागि सबैभन्दा बढी गठबन्धन आवश्यक रहेको बताउँदै गठबन्धनकै कारणले प्रदेशदेखि संघमा सरकार बनेको बताए । उनले गठबन्धनका साझा उम्मेदवारलाई शंका, उपशंका नगर्न कांग्रेस नेता–कार्यकर्ताहरुलाई आग्रह पनि गरेका छन् । गठबन्धनका साझा उम्मेदवारलाई सहयोग नगर्ने नेताहरुलाई कारबाही गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV