२५ बैशाख २०७९, आईतवार

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मतदातालाई धम्क्याए’ भन्ने बारेमा स्पष्टीकरण दिएका छन् ।

आइतबार पोखरामा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले मतदाता नधम्क्याएर राजावादीको गठबन्धनले चुनाव जिते देश कुन अवस्थामा पुग्छ भन्ने इंगित गर्न खोजेको बताए ।

उनले भने, ‘लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ । उनीहरुले जिते देशमा राजनीतिक दुर्घटनाको खतरा छ। मैले यो कुरा गर्दा जनता धम्क्यायो, हामीले नजिते देशमा दुर्घटना हुन्छ भनेर अर्थ लगाइएको छ । फेरि भन्न चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ।’

अध्यक्ष प्रचण्डले देशबाट राजावादी शक्ति निर्मूल नपारे देशमा राजनीतिक दुर्घटना हुने बताए । यसकारण आगामी स्थानीय तहको निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको पनि उनले बताए।

उनले भने, ‘निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा आएको छ, हामी शान्ति, परिवर्तन र संविधानका पक्षधर एकातिर र उल्ट्याउन चाहने सामन्ति प्रतिक्रियावादी तत्व अर्कोतिर छ ।’

LIVE TV