२५ बैशाख २०७९, आईतवार

काठमाडाैँ । अछामी भाषाको छमास्या (अर्धवार्षिक) पत्रिका ‘नौखुवा’काे प्रथम अंक विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उक्त पत्रिका विमाेचन गरिएकाे थियाे ।

नौखुवा प्रतिष्ठान नेपालले प्रकाशन गरेको पत्रिकामा अछामी भाषा–साहित्य, कला, साहित्य, संस्कृति, इतिहास र पर्यटनका विषयमा विभिन्न लेख रचनासहितका सामग्री समावेश गरिएका छन् । अछामी भाषामै सञ्चालन गरिएको कार्यक्रममा अछामी भाषाका रचना वाचन तथा अछामी मौलिक गीतहरुको प्रस्तुति समेत गरिएकाे थियाे ।

प्रतिष्ठानका अध्यक्ष कमल संघर्षको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ तथा मातृभाषा साहित्य विभागका प्रमुख लक्ष्मी माली रहनु भएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बरिष्ठ गजलकार ललिजन् रावल र अछामका पुराना नेता पूर्वमन्त्री तथा अछामी इतिहासका जानकार जनक बहादुर शाह रहनु भएको थियो ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि प्राज्ञ मालीले आफ्नोपन र आफ्नो कला संस्कृतिलाई जोगाउनको लागि मातृभाषा जोगाउनु आवश्यक रहेको बताउँदै मातृभाषाका यी र यस्तै कार्यक्रमले अछामी भाषा, संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भयो । उहाँले आफ्ना बालबच्चालाई आमाको काखबाटै मातृभाषा सिकाउनसमेत आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रावलले सबै मातृभाषा समान भएकाले कसैलाई धेरै र कसैलाई कम महत्व दिन नहुने बताउनु भयो । रेडियो नेपालसँग आवद्ध रहनु भएका गजलकार रावलले रेडियो नेपालको माध्यामबाट सुदूरपश्चिमको मातृभाषाको विषयलाई उठान गरिरहेको बताउनु भयो ।.

कार्यक्रममा सहभागी अर्का विशिष्ट अतिथि पूर्वमन्त्री तथा अछामी भाषा इतिहासका जानकार शाहले पछिल्लो पुस्ताले आफ्नो भाषा–साहित्य, कला, संस्कृतिमा देखाएको सक्रियताले आफुलाई ज्यादै खुशी दिलाएको बताउनुभयो । उहाँले आफूले जहिल्यै अछामी जनताले सत्कर्मको बाटो अंगालुन भन्ने चाहेको र पछिल्लो समयमा नौखुवाका युवाहरुको गतिविधिले त्यो चाहना पुरा हुने संकेत देखाएको पनि बताउनु भयो ।

कार्यक्रममा अछामी भाषा, साहित्यका जानकार तथा नौखुवाका सल्लाहकार पूर्ण रावल, लेखक बलबहादुर स्वाँर, साहित्यकार एम पी पाण्डे, भुवन निस्तेज, मिठु रावल, उपप्राध्यापक धर्म रावललगायतले सुभेच्छा व्यक्त गर्नुभएको थियो ।

नैखुवाको पहिलो अंकमा नौखुवा अछाम ऐतिहासिकता, नेपालका पैल्ला शहीद बाँकावीर, अछामीका आनन्द केवलानन्द, अछामी भाषा र नोपाली भाषामा अपसरण अवस्था लगायतका लेखहरु समेटिएका छन् । कवि/गजलकार कमलराज केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिवराज खनाल कल्पितले गर्नुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV