२४ बैशाख २०७९, शनिबार

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिकामा शिक्षकहरुले खुलेआम रुपमा निर्वाचन आचारसंहिता र शिक्षण पेशाको मर्यादाविपरीत राजनीतिक दलको पक्षमा भोट मागेका पाइएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेकपा (एमाले)को पक्षमा शिक्षकहरुले भोट माग्ने गरेको पाइएको हो ।

गाउँपालिकाको वडा नं. ६ मा अवस्थित श्री सगरमाथा माध्यामिक विद्यालयका एमाले निकट शिक्षकहरुले यसरी खुलेआम रुपमा भोट माग्दै हिँडेको पाइएको हो । विद्यालयको निमित्त प्रधानाध्यापक महलसिं राई, शिक्षकहरु महेश राई र बल बहादुर मगरलयातका शिक्षकहरुले मतदाताहरुको घरघरमा पुगेर एमालेको पक्षमा भोट मागेका हुन् ।

उनीहरुले मतदानका लागि अपील गर्ने मात्रै होइन मतदाताहरुलाई धम्काउने समेत गरेको पाइएको छ । ‘एमालेलाई भोट दिनुपर्छ, एमालेले जितिसकेको छ’ भनी मतदाताहरुलाई उनीहरुले प्रभावित गर्ने गरेका छन् ।

एमालेको वडा नं. ६ का उमेदवार दिनेश कुमार राईको साथ लागेर उनीहरुले विद्यालयको समयमा समेत भोट माग्ने गरेका छन् । उनीहरुले सामुदायिक भवनलगायत एमालेले निर्माण गरिदिएकोले एमालेलाई नै भोट दिनुपर्ने मतादाताहरुलाई भन्दै आएका छन् ।

एक मतदाताले नाम नबताउने सर्तमा भने, ‘हामीलाई धम्की आइरहेको छ । तिमीहरुको भवन एमालेले बनाइदिनुपर्ने, अनि अहिले अरु पार्टीमा जाने ? भनेर भनिरहेका छन् ।’

एमालेको पक्षमा खुलेर लागेका आफ्नै टोलका कतिपयले समूहबाटै अलग्याउने भनी धम्क्याउने समेत गरेको पाइएको छ । ती मतदाताले एमालेलाई भोट नदिए आफूहरुलाई समुहबाटै अलग्याउने धम्कीसमेत आएको बताए ।

‘एमालेलाई भोट नदिए समूहबाट आउट गर्दिन्छौं’ ती मतादाताले फोनबाट आएको धम्कीलाई उदृत गर्दै भने । एमालेले गाउँमा आयोजना गर्ने गरेको चुनावी भेलाहरुमा समेत जबर्जस्त रुपमा तानेर लाने गरेको बताए ।

महलसिं राई ०७४ को निर्वाचनमा एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरी केही समय पश्चात पुनः एमालेमै फर्किएका थिए भने महेश राईले त्यसैबेला कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । वडा अध्यक्षका उमेदवार दिनेश कुमार राई भने महलसिं राईसँगै एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरी वडा अध्यक्षको टिकट पाएर कांग्रेसमै रहेका थिए ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षको टिकट पाउने सम्भावना नरहेपछि यसपाली पुनः एमालेमै प्रवेश गरी उनी वडा अध्यक्षको उमेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV