२४ बैशाख २०७९, शनिबार

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरेका छन् । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए ।

सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ । सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भनेपनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनुपर्ने आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रतिस्थापन विद्येकमा पनि समस्या आएको हो । यसमा कसरी कार्यान्वय गर्ने मानै समस्या आएको हो । बजेट आयो तर कसरी कार्यान्वय गर्ने भनेर सहि बाटो समाउन नसक्दा त्यो प्रतिस्थापन विद्येकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन । अर्थमन्त्रीका सल्लाहकारले अर्थतन्त्र राम्रो छ आर्थिक गतिविधि र आर्थिक वृद्धि प्रक्षेपन भन्दा बढी हुन्छ भन्नुभयो । तर भन्ने भन्दा पनि नतिजामा देखिकी देखिएनन् । सुचकहरुले प्रमाणित गर्छनकी गर्दैनन् ।’

उनले थपे, ‘अर्थतन्त्रको संरचनागत परिर्वतन गर्नको लागि सबै भन्दा पहिला राजनीतिक नेतृत्व तयार हुनुपर्छ । बजेट कार्यान्वयनमा विगतमा जुन समस्या थिए अहिले पनि ती समस्या यथावत् छन् । सबै सूचकहरु नकारात्मक छन् । राजश्व संरचनाको दृष्टिकोण, प्रत्यक्ष आयकरको योगदान पूरानै । रोजगारी बढाउन सकिएको छैन ।’

उनले फेरि भने, ‘प्रतिबद्धता भएको वैदेशिक लगानी ३० प्रतिशत भन्दा बढी ल्याउन सकिएको छैन । वैदेशिक लगानी आएको छैन । अर्थतन्त्र संकटउन्मुख छैन भन मिल्दैन । अहिलेको बजेटमा सरकारले कषिलाई प्राथकिता दिनुपर्छ । यदि कृषिको देशको कुल गार्हस्थ्य उत्पादमा योगदान घटेर १५ प्रतिशतमा आयो भने मुलुकमा आर्थिक रुपमा ठूलो दुर्घटना हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV