२४ बैशाख २०७९, शनिबार

बैतडी । जिल्लामा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री-वितरणमा प्रतिबन्ध लगाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो ।

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV