२४ बैशाख २०७९, शनिबार
  • युवराज आचार्य

झापा । झापाको अर्जुनधारामा रहेको पूर्वार्ध कृषि सहकारी संस्था तथा डेरी उद्योगले आफ्ना सदस्यको लाखौं रकम हिनामिना गरेको खुलेको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ८ स्थित शनिश्चरे बजारमा रहेको पूर्वार्ध कृषि सहकारी संस्था र त्यस मातहतमा सञ्चालन भएको पूर्वाध डेरी उद्योगले आफ्ना सदस्यहरुको लाखौं रकम हिनामिना गरी साँवा न ब्याज बनाइदिएको हो ।

संस्थाले बचतकर्ता निर्मला दुलालको २ लाख ५० हजार, विष्णु बोहोराको १ लाख २० हजार, प्रकाश थापाको ६५ हजार, सुशिला तामाङको ५५ हजार, जानुका हमालको ३० हजार, शुशिला भट्टराईको ३५ हजारबढी गरेर अन्य थुप्रै बचत कर्ताहरुको लाखौं रकम अहिले साँवा न ब्याज बनाई दिएको पिडितहरु बताउँछन् ।

बारम्बर संस्थालाई आफ्नो रकम फिर्ता गरिदिन अनुरोध गर्दा समेत बिगत डेढ वर्षदेखि विभिन्न बहाना बनाई रकम फिर्ता गरिदनुको सट्टा उल्टै दुःख दिने गरेको पीडित बताउँछन् ।

सञ्चालक समिति र कर्मचारीको सेटिङ्गका कारण आफुहरुले खाई नखाई धेरै दुःख कष्ट झेलेर बचत गरेको रकम साँवा न ब्याज बनाई दिएको उनीहरुको आरोप छ ।

पूर्व मन्त्री केशव कुमार बुढाथोकी पहलमा सहकारी संस्थाले वि.स २०६९ सालमा मन्त्री बुढाथोकीकै जग्गामा डेरी उद्योग सञ्चालन सुरु गरिएको थियो ।

राज्यबाट करोडौं रकम अनुदान खानका लागि सञ्चालक समिति र कर्मचारीहरुको सेटिङ्गमा सहकारीको रकम डेरी उद्योगमा लगाएको र राज्यको अनुदान संगै सहकारीको रकम पनि मनोमानी ढंगले सञ्चालक समितिले मिलेमतोमा हिनामिना गरेको पीडितहरुको भनाई छ । डेरी उद्योग सञ्चालाका लागि राज्यको तर्फबाट विभिन्न समयमा थुप्रै अनुदान समेत ल्याएको भएता पनि अहिले अनुदान रकम संगै बचत कर्ताहरुको रकम समेत हराउने अवस्थामा पुगेको पिडित बचतकर्ताहरु दुखेसाे पोख्छन् ।

हाल सहकारी संस्थाको कारोबार बन्द गर्नुका साथै डेरी उद्योग पनि एक/डेड वर्षदेखि सञ्चालनमा नआउनु संस्थाका सञ्चालक समितिको गलत नियती भएको भन्दै उनीहरुको गलत नियतीले आफुहरुले दुःख पाएको बचत कर्ताहरुको आरोप छ ।

पूर्वाध डेरी उद्योग सञ्चालका लागि अर्जुनधारा नगरपालिकाले आर्थिक बर्ष ७४/७५ मा रु ७ लाख सहयोग गरेको थियो । त्यस्तै अर्थिक बर्ष ७५/७६ मा १ नं प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि-सहकारी मन्त्रालयबाट रु १९ लाख र ७६/७७ मा भूमि व्यवस्था तथा कृषि मन्त्रालय काठमाडौंबाट रु १ करोड ६० लाख ६०/४० को अवधाराणमा अनुदान प्राप्त गरेको जानकारहरु बताउँछन् । यसरी राज्यबाट विभिन्न समयमा करोडौं रकम अनुदान प्राप्त गर्दा गर्दै पनि किन संस्थाले सोझा साझा बतच कर्ताहरुको रकम हिनामिना गर्नु गलत भएको उनीहरु बताउँछन् ।

यता पूर्वाध कृषि सहकारी संस्थाकी अध्यक्ष नमिता विमलीले सदस्यको रकम फिर्ता हुने बताएकी छिन् । यस भन्दा अघिको कार्य समितिका अध्यक्ष कमल भण्डारीले मनोमानी गर्दा सदस्यहरुले दुःख पाएको बताउँदै अब भने आफुले सबै सदस्यहरुको रकम फिर्ता गर्ने जनाएकी छिन् । यस अघिको कार्य समितिकी उपाध्यक्ष समेत रहेकी विमलीले पूर्व अध्यक्ष भण्डारीले आर्थिक हिनामिना गर्दा अवस्था यस्तो आएको बताईन् ।

राज्यबाट यति धेरै लगानी भईरहदा पनि नियमनकारी निकायले अनुगमन समेत नगर्नु दुःखद् विषय हो । साथै सदस्यले विश्वास गरेर बचत गरेको रकम लामो समयसम्म पनि साँवा न व्याज पार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायको ध्यान किन पुगिरहेको छैन ? पिडितहरुले यथाशिघ्र आफ्नो रकम फिर्ता पाउनु पर्छ यस बिषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV