२३ बैशाख २०७९, शुक्रबार
  • युवराज आचार्य,

मेचीनगर । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य बिष्णु प्रसाईले अहिले नीति, विचार र आचरणसमेत नमिल्ने पार्टीहरू स्वार्थका लागि गठबन्धन गरेर जनतालाई झुक्याई रहेको बताएका छन् । एमाले मेचीनगरको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम अन्तर्गत आज मेचीनगर–५ स्थित नकलबन्दा चोकमा भएको सभालाई सम्बोधन गर्दै पूर्व बागमती प्रदेश प्रमुख समेत रहेका नेता प्रसाईले अब जनता सचेत भइसकेको बताउँदै गठबन्धनको हैसियत देखाइदिने बताए ।

उनले भने, ‘एमाले जनताको पार्टी हो, त्यो सबैलाई थाहा छ । सरकारमा रहदा जनताका बिचमा गएर धेरै कामहरु गरेका थियौं तर, अहिले परमादेशको गठबन्धन सरकारले जनतालाई सास्ती मात्रै दिएको छ ।’ साथै उनले अब आसन्न निर्वाचनमा एमालेले गठबन्धनलाई पत्तासाप पार्दै दुई तिहाईको सरकार बनाउने बताउँदै त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै उनले मेचीनगरमा एमालेबाट प्रमुख पदमा जनप्रिय, विकासप्रेमी सबैको प्रिय नेता गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीलाई अगाडि सारिएको बताउँदै उनीहरुसँगै सूर्यध्वजबाहाक उम्मेदवारहरुलाई अत्याधिक मत प्रदान गरेर विजयी गराउन आग्रहसमेत गरे ।

कार्यक्रममा विभिन्न पाटी परित्याग गरी करिब दुई दर्जन बडी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले नेता प्रसाई, मेयरका प्रत्यासी बुढाथोकी, उपमेयरकी प्रत्यासी उप्रेती, एमाले जिल्ला कमिटी सदस्य देवकुमार राई एमाले नेता सुशील आचार्यलगायतले अबिर र खदा पहिराएर स्वागत गरेका थिए ।

LIVE TV