२२ बैशाख २०७९, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गरेका छन् । बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई नोक्सानी पुग्ने र अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी नलाग्न सबैमा आग्रह गरेका हुन् ।

उनले गठबन्धनका कारण गठबन्धनमा आवद्ध सबै दलहरुलाई केही न केही फाइदा पुगेको बताए । उनले भने, ‘अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी, दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्नेगरी, र यो वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सानी हुनेगरी लोकतन्त्रप्रति आस्था राख्ने व्यक्ति, कम्युनिष्ट आन्दोलनप्रति विश्वास राख्ने व्यक्ति, परिवर्तनप्रति सर्मपित भएका व्यक्तिहरु कसैले लाग्नु हुँदैन ।’

उनले थपे, ‘हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएका छौँ । र यो संयुक्त अभियानले स्वभाविक रुपमा गठबन्धन दलका सबै पार्टीहरुलाई फाइदा नै भएको छ केही न केही । यस अर्थमा चाहेको जस्तो सबैले पाउँदैनन् । खोजेको जस्तो हुँदैन । एक्लै हुँदा पनि पाइदैन ।’

अध्यक्ष नेपालले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको योग्यताको जाँच भइसकेकाले मेयरमा चयन गरेर गठबन्धनले सही निर्णय गरेको बताए । उम्मेदवार दाहाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरी भएकै कारण गठबन्धनले मेयरमा नउठाएको उनले स्पष्ट पारे । योग्य र समक्ष भएका मानिसलाई राजनीतिमा आउन दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मेयरमा रेनु दाहाललाई यस आधारमा होइन कि उहाँ पुष्पकमल दाहाल प्रचण्डकी छोरी त्यस रुपमा हेर्ने पनि होइन । अनि छोरी भएपछि अर्को पार्टीमा जाउँ भन्ने ? योग्य छ, सक्षम छ भने उसलाई राजनीतिमै आउन भन्नुपर्छ । एउटा व्यवसायीले पनि आफ्ना छोराछोरीहरुलाई व्यवसायतर्फ आकर्षित गर्छ । एउटा कलाकारले पनि आफ्ना छोराछोरीहरुलाई कलाकार बन्नका लागि प्रेरित गर्छ । एउटा गायकले पनि आफ्ना छोराछोरीहरुलाई गायक, गायिका र नृत्यका लागि सिपालु बनाउन खोज्दछ । त्यस हुनाले कोही योग्य छन् भने आफ्नो योग्यताको आधारमा आउने हो ।’

उनले फेरि भने, ‘बाबुको नामको आधारमा होइन । परिवारको नामको आधारमा होइन । त्यस आधारमा हामीले उनीहरुलाई अगाडि बढाउने पनि होइन । त्यस आधारमा दण्डित गर्ने पनि होइन । त्यस हुनाले मान्छेको योग्यताको जाँच हुनुपर्दछ । योग्यताको जाँचमा रेनु दाहाल उत्कृष्ट काम गर्नुभएको छ । त्यसहुनाले उहाँलाई मेयरमा चयन गरेर पाँ दलको गठबन्धनले सहि निर्णय गरेको छ । र यो निर्णय अनुसार नै उहाँलाई अत्याधिक मतले जिताउने काममा तपाई सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्नु आवश्यक छ ।’

अध्यक्ष नेपालले नेपाली कांग्रेसका असन्तुष्ट उम्मेदवारलाई वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरे । उनले राजनीतिलाई निष्ठा, सर्मपण र आदर्शको विषय बनाएको भए व्यक्तिगत कुण्ठाको आधारमा नचल्न पनि आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेस भित्रको अलि समस्या देखिएको छ । म उहाँहरुलाई पनि भन्न चाहान्छु, तपाईहरुले साच्चै राजनीतिलाई निष्ठा र सर्मपणको विषय बनाउनुभएको छ भने, आदर्शको विषय बनाउनुभएको छ भने, व्यक्तिगत कुण्ठाको आधारमा नचल्नुस् । पार्टीभित्र समस्याहरु हुन सक्दछन् । त्यसलाई बसेर हल गर्न सकिन्छ ।’

उनले थपे, ‘त्यसलाई त्यही हिसाबले अहिलेपनि आफ्नो उम्मेदवारी वक्तव्य दिएर फिर्ता लिनुस् । होइन तपाई फिर्ता लिनुहुन्न भने जनताले नै फैसला गर्नेछन् । जनताले रेनु र चित्रसेनलाई जिताउन पूरै लागिपर्नेछन् । पाँच दलका मात्र होइन अरु दलका साथीहरुले पनि साथ र सहयोग दिनुहुन्छ भने उहाँहरुको सहयोग पनि हामी लिनुपर्छ ।’

अध्यक्ष नेपालले गठबन्धन आगामी चुनाव र त्यसपछि पनि लिएर जानुपर्ने बताए । उनले गठबन्धनको मर्म र सिद्धान्तलाई इमान्दारीताका साथ पालना गर्दै साझा उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV