
- मुस्कान श्रेष्ठ,
वीरगञ्ज (पर्सा) । पर्साको पोखरीया नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको छ । बैशाख ३० गते हुने स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने बारे बिहीबार दुई पार्टीबीच छलफल भएको थियो ।
पोखरीया नगरपालिकाको मेयर र उपमेयर पदसहित १० वटै वडामा गठबन्धन गर्ने लिखित सहमति भएको पोखरीया जसपाकी नगर ईन्चार्ज सल्मा खातुनले बताइन् । केन्द्रले आवश्यक्ता अनुसार गठबन्धन गर्ने भनेपछि आफूहरु सोही अनुसार नेकपा माओवादीसँग गठबन्धन गर्न पुगेको उनले जानकारी दिइन् ।
नेकपा माओवादीले पनि निःस्वार्थ रुपमा जसपालाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट प्रदेश कमिटी सदस्य रामबाबु बैठा, नगर अध्यक्ष पानालाल पटेल र जसपाको तर्फबाट नगर इन्चार्ज सल्मा खातुन, मेयरका उम्मेदवार राजु साहले हस्ताक्षर गरेका छन् ।
पोखरीया नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार राजु शाह, उप–मेयरमा रेनु देवी रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट एकजना मात्र वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार रहेका छन् ।