२२ बैशाख २०७९, बिहीबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स (बेल्जियम) । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आन्तरपेनमा आयोजित कार्यक्रममा उपस्थित बेल्जियमका लागि नेपाली दूतावासका द्वित्तीय सचिव रुउस कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपालको संविधानले मौलिक हकको रुपमा स्थापना गरेको स्मरण गर्दै सुसंस्कृत र मर्यादित पत्रकारिताका लागि दूतावासले सदैव सहयोग गर्ने बताए । समाजलाई सुसूचित गर्न पत्रकार निरन्तर लागिपर्नु पर्ने उनको सुझाव थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ यूरोप शाखाका निवर्तमान अध्यक्ष तथा हाल कार्यबाहक अध्यक्ष केजिन राईले संगठित भएर पत्रकारिता गरेमा समाज र संगठनको कल्याण हुने उल्लेख गर्दै पत्रकारहरू संवेदनशील, स्वतन्त्र र निर्भिक भएर कलम चलाउन आवश्यक रहेको बताए । उनले विदेशमा पत्रकारिता गरेरै बाँच्नसक्ने अवस्था नभएको जानकारी गराउँदै प्रवासमा रहेका पत्रकारहरूले थोरै समय निकालेर पत्रकारिता गरिरहेकोले यो नै खुसीको कुरा भएको विचार व्यक्त गरे ।

यसका साथै गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले पत्रकारिता पेशाले समाजको आमूल परिवर्तन र समाज एकीकृत बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रवासी समाजलाई सुसूचित गर्दै समृद्ध समाज निर्माणका लागि भूमिका खेल्न आग्रह गरे । त्यस्तै नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले पत्रकारहरूले डर, भावना र लोभले ओतप्रोत भएर समाचार सम्प्रेषण गरेमा समाजमा नकारात्मक असर पर्ने भएकोले पत्रकारहरू यसप्रति सजग हुनुपर्ने र सिर्जनशील भएर समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।

एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुवेदीले प्रवासमा पत्रकारहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा आफूहरू पहिलो पुस्तालाई समेत मध्यनजर गरी कलम चलाउन सुझाव दिए । त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष मुना राईले पत्रकारहरू संगठित भएमा समाज सशक्त हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेकी छन् ।

जन प्रगतिशील मञ्च बेल्जियमका इन्चार्ज तथा निवर्तमान अध्यक्ष जीत लामाले आमनागरिकहरुको सही र निष्पक्ष जानकारी प्राप्त होस् भन्ने चाहना हुने हुँदा त्यसतर्फ पत्रकारहरूलाई ध्यान दिन आग्रह गर्दै समाजको अहिलेको चाहना भने स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएको उल्लेख गरे । लामाले आफूलाई लागेको सकारात्मक कुरा निस्फिक्रीका साथ लेख्न पत्रकारसँग आग्रह गरे ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष प्रकाश गिरीले बेल्जियमका पत्रकारहरूले घर–व्यवहार, दैनिकीलाई एक ठाउँमा राखेर संसारलाई सुसूचित गर्ने काम गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा निष्पक्ष समाचार सम्प्रेषण गर्न सुझाव दिए । नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष विष्णु भुजेलले भने, ‘प्रत्येक क्षेत्रमा चुनौती देखिँदा पत्रकारिता क्षेत्रमा पनि चुनौती नभएको होइन । तर, ती चुनौतीहरूलाई सामना गर्दै मर्यादित पत्रकारिता आजको आवश्यकता भएको हो ।’

नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष प्रकाश पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिता भन्ने विषयले मेल नखाएको अनुभव सुनाउँदै पत्रकारहरूले वैचारिक रूपमा समाचार संकलन र सम्प्रेषण गर्न नहुने बताए । वेन्स्टडे सोसाइटीका अध्यक्ष ब्रह्मदत्त वाग्लेले आग्रह र पूर्वाग्रह नराखेर निष्पक्ष पत्रकारिता गर्न सुझाव दिँदै बेल्जियमका स्थानीय समस्याहरूलाई सम्बोधन गर्न नसकेकोमा त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

फोनिज यूरोप उपाध्यक्ष स्तम्भकार दिल निशानी मगरले पछिल्लो समयमा प्रविधिले मानिसलाई पत्रकारिता गर्न सजिलो बनाइदिएको उल्लेख गर्दै प्रविधिको प्रयोगले पनि समाचार बनाउन सजिलो भएको धारणा राखे । एनआरएनका निवर्तमान आईसीसी सदस्य सुवास जोशीले बेल्जियममा नेपाली समाज संगठित हुन लामो समय लागेको बताउँदै पत्रकार महासंघले दोश्रो पुस्तालाई पनि पत्रकारिता क्षेत्रमा सक्रिय गराउन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सुझाव दिए ।

तमुधिःबेल्जियमकी अध्यक्ष प्रविना गुरुङले पत्रकारहरूलाई अनैतिक तवरले दिइने धम्कीको सबै मिलेर सामना गर्नुपर्ने र समाजलाई सुसूचित गर्न निरन्तर लागेका पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङले आजको आवश्यकता निष्पक्ष पत्रकारिता रहेको हुनाले सबै पत्रकारहरूले त्यसतर्फ सोचेर कलम चलाएमा समाज चेतनशील बन्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली अम्माईले प्रवासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रतासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । अम्माईले भयरहित पत्रकारिता आजको आवश्यकता भएकोले यस क्षेत्रमा क्रियाशील पत्रकार संवेदनशील भएर समाचार सम्प्रेषण, संस्लेषण, विश्लेषण र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा पत्रकार सनत आचार्यले पत्रकारिता पेशा समाजलाई सुसूचित बनाउने मात्र नभइ मानव अधिकारको संरक्षण तथा सम्बर्धन, मौलिक अधिकारको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि समिति आवश्यक रहेको बताउँदै छलफलमा आएका सुझावहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका ओम शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले आम नागरिकको मात्र नभइ राज्यसञ्चालकहरूलाई समेत सचेत गराउने भएकोले यो विषय सबैका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समयमा पत्रकारहरू पत्रकारिताको मूल मर्मअनुसार चल्ने अभ्यासमा रहेको बताउँदै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणका लागि आफूहरू सदैव चनाखो रहेको जिकिर गरे ।

कार्यक्रममा उपस्थित सबैलाई कोषाध्यक्ष निलम घिमिरे गरेकी थिइन् भने सञ्चालन महासचिव पेम्वागेलु शेर्पाले गरेका थिए । त्यस्तै ब्यवस्थापन संयोजन संस्थापक सचिव शेर बहादुर छन्त्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV