२२ बैशाख २०७९, बिहीबार

चितवन । गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले भरतपुरको विकास कास्टिङमात्रै भएको र अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउने बताएकी छन् । विहीबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् ।

उम्मेदवार दाहालले ५ वर्षमा सुरूवात गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको उल्लेख गर्दै भनेकी छन्, ‘शिर झुकाउन पर्दैन । विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं ।’

त्यस्तै उनले विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको बताउँदै भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने दाबी गरेकी छन् । पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताउँदै १२ बुँदे सम्झौता, शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने बताएकी छन् ।

 

LIVE TV