२२ बैशाख २०७९, बिहीबार

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशको आर्थिक बृद्धिदर ६.७ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीबार तथ्याङ्क विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को बागमती प्रदेशको आर्थिक बृद्धिदर ६.७ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको हो ।

विभागले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपीमा) मा बागमती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । तर, सात प्रदेश मध्ये कर्णाली प्रदेशले सबैभन्दा कम १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशतको योगदान गर्ने अनुमान तथ्याङ्क विभागले बताएको छ ।

अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा वागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्याङ्कले देखाएको छ । पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको बताए ।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै बागमती प्रदेशको योगदान रहेको बताए । आचार्यले प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्र र कम औद्योगिक क्षेत्रको रहेको स्पष्ट पारे ।

उनले भने, ‘सबैभन्दा धेरै आर्थिक बृद्धिदर वागमती प्रदेशको ६.७ प्रतिशत रहेको छ । सबै भन्दा कम मधेस प्रदेशको ४.८ प्रतिशत देखिन्छ । यसरी प्रदेशस्तरीय आर्थिक बृद्धिदर राष्ट्रिय आर्थिक बृद्धिदर नजिक रहेको छ । त्यसमा कहीँ तल–माथि परेको देखिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा कति हिस्सा छ भन्दा, सबैभन्दा धेरै वागमती प्रदेशको रहेको छ । प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको रहेको छ । सबैभन्दा कम औद्योगिक क्षेत्रको रहेको छ । सबैभन्दा धेरै सेवा क्षेत्रमा वागमती प्रदेशमा ७६.६९ प्रतिशत रहेको छ भने मधेस प्रदेशको ३४.५ प्राथमिक क्षेत्रको देखिएको छ ।’

विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ । त्यस्तै १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ । कुल ग्राहस्थ्य योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ ।

क्रमशः अघिल्लो आर्थिक वर्षमा वागमतीको ३७.७ प्रतिशत, प्रदेश १ को १५.६ प्रतिशत, गण्डकी प्रदेशको ८.७ प्रतिशत, लुम्बिनी प्रेदेशको १४.० प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत र कर्णाली प्रदेशको ४.० प्रतिशत रहेको थियो । यसअघि विभागले चालु आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक बृद्धिदरको प्रक्षेपण गरिसकेको छ ।

प्रदेश स्तरीय आर्थिक बृद्धिदरमा पनि चालु आर्थिक वर्ष वागमती प्रदेशको ६.७ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश १ को ५.४१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्याङ्क लगायत मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर कुल गार्हस्थ्य उत्पादन प्रदेश तहको योगदान र आर्थिक बृद्धिदरको तथ्याङ्क सार्वजनिक गरेको बताएको छ । आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर तथ्याङ्क मापन गरिएको विभागले बताएको छ ।

 

LIVE TV