२१ बैशाख २०७९, बुधबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स (बेल्जियम) । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले नेपालमा पत्रकारहरुको अवस्था गम्भीर देखाएको बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उपाध्यक्ष जीएमले यस्तो धारणा राखेका हुन् ।

त्यस्तै उनले यसवर्ष मात्र पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएको बताए । प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु देखिएको बताउदै आफ्नो पेशागत हक र अधिकारको लागि नेपाल पत्रकार महासंघले आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

प्रेम परियारको अध्यक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष चिरन शर्माले विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुको समेत सुरक्षामा चुनौती रहेको प्रति चिन्ता व्यक्त गरे । उनले विश्वभर छरिएर रहेका नेपालीका समस्याहरुलाई नेपालसँग जोड्ने काम विदेशमा रहेका पत्रकारहरुले गरेको जिकिर गरे ।

त्यस्तै शर्माले नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा पत्रकारहरु आफ्नै उम्मेदवार हुने र पार्टीहरुको झण्डा बोकेर प्रचारप्रसारमा हिड्ने कार्यले पत्रकारिता पेशाकै मर्यादामा चुनौती थपिएको बताए । उनले नेपालमा गएको शक्तिशाली भूकम्प, कोरोना महामारी, रुस–युक्रेन युद्धलगायतका ठूल्ठूला घटनामा विदेशमा रहेका नेपाली पत्रकारहरुले सूचना संकलनमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

सोही क्रममा शाखाका कार्यवाहक अध्यक्ष केजीन राईले विदेशमा बसेर पत्रकारिता गर्दा समुदायको हितमा हुनु पर्ने बताए । उनले समाचार देख्दा निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिए । त्यस्तै शाखका उपाध्यक्ष दिल निसानीमगरले नेपाल पत्रकार महासंघले पत्रकारहरुका साझा समस्याहरुलाई सम्बोधन गर्दै आएको प्रति प्रसन्नता प्रकट गरे । जुन अंग्रेजी महिनाको मे ३ को दिन विश्वव्यापी रुपमा हरेक वर्ष मनाइन्छ ।

सन् १९९३ डिसेम्बर १, को दिन युनिस्कोको साधारण सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रमहासंघको साधारणसभामा विश्व प्रेस स्वतन्त्रता दिवस विण्डहोक घोषणा पारित भयो । त्यस बेलादेखि मे तेस्रो दिन विन्डहोकको घोषणपत्रको वार्षिकोत्सवको रुपमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ र मिडिया स्वतन्त्रता दिवस भनेर पनि चिनिन्छ ।
शाखाका सदस्यहरु समेतको उपस्थिति रहेको कार्यक्रम सञ्चालन पत्रकार दिनेश गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV