२० बैशाख २०७९, मंगलवार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका हुन् ।

उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे ।

उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधीनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहो¥याए ।

उनले भने, ‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहान्छु । हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परीक्षणवालाहरुले परिक्षण गर्नुपर्ने बेला भयो । विभिन्न क्षेत्रको लेखा परीक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ । हाम्रा हिमालहरु, तराई, पहाड, नदिहरु र हाम्रो झरणाहरुको मूल्य कति हो । हाम्रा श्रमिकहरु, युवाबहुल श्रमिकहरुको मूल्य कति हो ? त्यसको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला भएको छ ।’

उनले थपे, ‘यहाँहरुलाई मैले त्यो आग्रह गर्न चाहान्छु । त्यसो नगरीकन यो राष्ट्र निर्माणलाई नयाँ दिशा दिन सकिदैन । अब हाम्रो दुई वटा नारा हुनुपर्छ । एउटा राष्ट्रिय सधीनता, अर्को आत्मनिभरता यी एक अर्काका पूरक हुन् । यीनलाई अलग गर्न सकिदैन । सँगै जोडेर जाँदा हामीले लेखा परीक्षण गरौंँ । आफ्नो आफ्नो इमानदारिताको परीक्षण गरेर राष्ट निर्माणप्रति इमानदार बनौंँ ।’

त्यस्तै अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो ।

त्यस्तै उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नुपर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।

अर्थमन्त्री शर्माले भने, ‘मुलुकमा गरिबी किन छ । बहुआयामिक रुपमा गरिबी किन छ यसको लेखा परीक्षण गर्ने बेला भएको छ । त्यसको त्रुटि पत्ता लगाउनु प¥यो । लेखा परीक्षण गर्दा कहाँ पल्समा माइनस भयो । कहाँ शुन्य राखियो । आज मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न सक्दैनौं । आज हामीले व्यापार घाटाको कुरा गरी रहेका छौं । बीओपी घाटामा गएको कुरा गरेका छौं, अब हामीले त्यसको लेखा परीक्षण गर्नुपर्ने बेला भएको छ ।’

उनले फेरि भने, ‘कहाँ गल्ती भयो कहाँ इमानदारितामा लुज भयो वा भुलचुकमा भयो । त्यो कुराको लेखा परीक्षण गर्नु पर्ने बेला भएको छ । त्यसको लेखा परीक्षण गर्न सकिएन भने व्यापार घाटा बढ्दै जान्छ । हामीले मुलुकको उत्पादनको, कृषि जमिनको लेखा परीक्षण गर्नुपर्ने भएको छ । हाम्रोमा उत्पादनको सम्भावना हुदाँहुँदै किन ८ महिनामा ३ अर्बको आयात गर्नु परेको छ । यसको पनि लेखा परीक्षण गर्न पर्ने भएको छ । यो विषयमा मेरो जिम्मेवारी हो ।’

त्यस्तै अर्थमन्त्री शर्माले विगतमा लेखा परीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भइरहेको बताए । लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परीक्षण गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV